इलामे युवामा भाषा र लिपीप्रतिको मोह बढ्दो

  नयाँ बुलन्द
0 Shares

इलाम : पछिल्लो समय इलामे युवाहरुमा भाषा र लिपीप्रतिको मोह बढ्दै गएको छ । विशेष गरी आदिवासी जनजाति युवायुवतीहरुमा आफ्नो भाषा र लिपीको क्रेज बढ्दै गएको पाईएको छ । विभिन्न संघसंस्थाले आयोजना गर्ने भाषा तथा लिपी प्रशिक्षणमा खचाखाच उपस्थिती हुने देखिन्छ ।

छोटो समयका लागि आयोजित त्यस्ता प्रशिक्षणहरुमा समेत उल्लेख्य सहभागी हुने गरेको पाईन्छ । बेलाबखत मात्र आयोजना हुने यस्ता कार्यक्रममा सम्बन्धित समुदायको मात्र नभएर अन्य समुदायको युवायुवतीले समेत सहभागिता जनाउने गरेका छन् ।

लिम्बू विद्यार्थी मञ्च इलामले शनिबारदेखि सुरु गरेको “एक हप्ते किरात सिरिजङ्गा लिपी तथा लिम्बू भाषा प्रशिक्षण” मा उत्साहजनक सहभागिता रहेको छ । प्रशिक्षण सोही क्याम्पस, मोर्डन क्याम्पस, आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध गैर लिम्बूले समेत सहभागिता जनाएका छन् । प्रशिक्षण्मा लिम्बू, राई र अन्य समुदायका गरी ५७ जनाले सहभागिता जनाईरहेका छन् । तालिमका सहभागीहरुलाई सुनिल शेर्माले सहजीकरण गरिरहेका छन् ।

भाषाको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरिएको लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष अतित योङहाङले बताए । ‘राज्यले एउटै मात्र भाषालाई पक्षपोषण गरेकाले हाम्रो भाषा लोप हुने अवस्था आयो’ अध्यक्ष योङहाङले भने, ‘भाषा लोप भए जाति पनि लोप हुने भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न प्रशिक्षण सुरु गरिएको हो ।’

उनले राज्यले जबरजस्त एउटै मात्र भाषाको शिक्षानीति लादेर अन्य भाषाभाषीको अपमान गरेको आरोप लगाए । नेपाल वहुभाषिक राष्ट्रको रुपमा परिभाषित भएपनि एउटै ‘खस नेपाली’ भाषाको मात्र पठनपाठन हुनु विडम्बना भएको बताए ।

मञ्चका अध्यक्ष अतित योङहाङ्गको अध्यक्षता र केन्द्रीय सदस्य रामकुमार लिङदमको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, इलाम अध्यक्ष गायत्री थेगिम, इलाम नगर अध्यक्ष बखतवहादुर आङदेम्बे, मञ्चका केन्द्रीय सदस्य गुल्सन आङबुहाङ, मरब क्याम्पस अध्यक्ष शुक्रराज माबो र किरात राई विद्यार्थी संघ इलामका अध्यक्ष अन्वेश थुलुङले राज्यको विभेदकारी नीतिका कारण धेरै भाषा लोप हुने अवस्थामा पुगेको बताए ।

संविधानले नै त्रैभाषिक नीतिलाई अवलम्वन गर्न खोजेको भएपनि कार्यान्वयन नगरिएको भन्दै उनीहरुले व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार