चितवन : चितवन जिल्ला लागू औषधको मुख्य ट्रान्जिट प्वाइन्ट रहेको एक तथ्यांकले देखाएको छ । लागू औषध ओसारपसार तथा सेवनमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले गएको ३ वर्षमा तीन सय तीन जनालाई पक्राउ गरेपछि जिल्लामा लागू औषधले जरा गाडेको पाइएको हो ।
चितवन प्रहरीबाट प्राप्त तथ्यांकअनुसार लागू औषध ओसारपसारमा संलग्न रहेको आरोपमा सबैभन्दा वढी आर्थिक वर्ष ०७२/७३ मा एक सय २० जना मानिसलाई पक्राउ गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
सो अवधिमा प्रहरीले ७१ वटा मुद्दा दर्ता गराएकोमा चार जना मानिस अझै फरार रहेको र उनीहरुको खोजीकार्यमा प्रहरीले कडाइका साथ अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताए ।
आव २०७३/७४ मा ठूलो परिणामको लागू औषध सहित ९३ जना पक्राउ परेको तथ्याङ्कमा उल्लेख छ । उनका अनुसार लागू औषध सम्बन्धी ५२ वटा मुद्दामा एक सय नौ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा परेको थियो । ९३ जनालाई पक्राउ गरिएको र १६ जना फरार सूचीमा रहेको उनले बताए ।
गत आव ०७४/७५ मा चितवनमा अदालमा ६२ वटा लागू औषध सम्बन्धी मुद्दामा ९६ जना विरुद्ध मात्रै उजुरी दिएपनि ९० जना मात्रै पक्राउ परेको र पक्राउ विरुद्ध लागुऔषध मुद्दा कार्वाही प्रक्रियालाई अगाडि बढाइएको राठौरले बताए । उनका अनुसार मुद्दा दायर गरिएका मध्ये ६ जना अभियुक्त अझै फरार छन् ।
पछिल्लो तीन वटा आर्थिक वर्षमा प्रहरीले लागू औषध सम्बन्धी एक सय ८५ वटा मुद्दामा तीन सय २९ जना विरुद्ध मुद्दा दायर गरेको थियो । सबै मुद्दाको फैसला हुँदा प्रहरीले तीन सय तीन जना अभियुक्त लाई मात्रै पक्राउ गर्न सफल भएको छ भने २६ जना अभियुक्त अझै फरार रहेका छन् ।
तीन महिना मै लागू औषध सेवनकर्ता ३५ पक्राउ
लागूऔषध ओसारपसारमा संलग्न अभियुक्तलाई पक्राउ गर्न चितवन प्रहरी आक्रमक रूपमा लागिपरेको छ । जिल्लामा लागू औषध ओसारपसार हुने गरेको घट्ना बाहिरिए पछि टोली नै बनाइ खटिएको प्रहरीको बिशेष टोलीले बितेको तीन महिना १३ दिन मै ३५ जनालाई पक्राउ गर्न सफल भएको हो ।
ठूलो मात्रामा लागु औषध तथा सवारीसाधन बरामद
प्रहरीले गरेको विभिन्न सुरक्षा चेकजाँचका क्रममा पक्राउ परेका व्यक्तिहरुबाट ठूलो मात्रामा लागू औषध तथा सवारी साधन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार आर्थिक वर्ष २०७२/७३ मा एक सय १० किलो गाँजा सहित १४ लिटर कोरेक्स तथा अन्य लागु पदार्थहरु बरामद गरेको थियो । यस अवधिमा डाइजेपाम एक हजार एक सय ४० एम्पुल, व्युप्रिनोर्फिन एक हजार एक सय १७ एम्पुल, फेनारगन एक हजार एक सय ४० एम्पुल, नाइट्राजेपाम दुई हजार १० ट्याब्लेट, क्लोनाजेपाम सात सय ७० ट्याब्लेट, खैरो हिरोइन सात ग्राम सहित अन्य लागु औषधहरु प्रहरीले बरामद गरेको बताए ।
आव ०७३/७४ ठूलो परिमाणमा लागुऔषध सहित विभिन्न भारतीय तथा नेपाली गाडीहरु समेत बरामद गरेको थियो । प्रहरीले यस अवधिमा पाँच सय ७३ किलो चरेस, २६ किलो गाजा, ८४ ग्राम खैरो हिरोइन, डाइजेपाम एक हजार एक सय ७५ एम्पुल, व्युप्रिनोर्फिन एक हजार एक सय ५० एम्पुल, फेनारगन एक हजार एक सय ३७ एम्पुल, नाइट्राजेपाम चार सय २३ ट्याब्लेट सहित अन्य लागु औषध समेत बरामद गरेको थियो । दुई वटा ट्रक, दुई वटा भारतीय नम्बर प्लेटको टाटा सुमो र तीन वटा मोटरसाइकल समेत बरामद गरेको थियो ।
आव ०७४/७५ मा दुई सय ७२ किलो गाँजा सहित अन्य लागुऔषध र सवारीसाधन समेत बरामद गरेको छ । प्रहरीले खैरो हिरोइन ४५ ग्राम, नाइट्राजेपाम दुई हजार नौ सय ८४ ट्याब्लेट, व्युप्रिनोर्फिन नौ सय चार एम्पुल, फेनारगन नौ सय २३ एम्पुल, डाइजेपाम आठ सय ९९ एम्पुल, फेन्डिसिल आठ सय एमएल तथा अर्नेक्स तीन सय एमएल बरामद गरेको थियो । पक्राउ परेका मानिससँगै उनीहरुले लागु औषध ओसारपसार गर्न प्रयोग गरेका दुई वटा मोटरसाइकल, एउटा भारतीय नम्बर प्लेटको महिन्द्र बोलेरो गाडी तथा दुई वटा अटो रिक्सा समेत प्रहरीले बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।
लागू औषधको सञ्जाल तोडेरै छाड्छु : एसपी राठौर
यसैबीच, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जिल्लालाई लागु औषध भय मुक्त बनाएरै छाड्ने बताएका छन् ।
शुक्रबार बिहान विशेष समय लिएर बोल्नु हुँदै उहाँले लागू औषधको सञ्जाल तोडेरै छाड्ने बताए । लागू औषध सेवनले नकारात्मक सन्देश जाने र यस्ले समाज, पारिवारिक दुबैलाइ समस्यामा पार्ने साथै जिन्दगी नै बर्बाद हुने भएकोले यस्को सञ्जाल तोड्नु आफ्नु प्रमुख उद्देश्य रहेको बताए ।