रौतहट : रौतहटको गौर नगरपालिका ४ स्थित टिकुलिया घाटमा लालबकैया नदीले डुंगा बगाएको छ । डुंगामा ४० जना भन्दा बढी सवार थिए । त्यसमध्ये ५ जना पौडिएर निस्केका छन् । अन्य बेपता रहेको प्रहरीले जनाएको छ ।
बन्जाराहबाट सदरमुकाम गौरको टिकुलिया घाटतर्फ आउँदै गरेको डुंगा साँझ ७ बजेतिर लालबकैया खोलामा आएको बाढीले बगाएको हो ।घटनामा ३५ जना बढी वेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए। राति अँध्यारो भएकाले खोजी गर्न कठिनाई भएको प्रहरीको भनाई छ ।
शनिबार साँझ बन्जारा गाउँबाट टिकुलिया तर्फ आउँदै गरेको डुंगा ललबकैया नदीमा आएको बाढीले बगाएको हो । घटनास्थलमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र एसपी ढकालसमेत गएका छन्। पौडिएर बाहिर निस्कने ५ जना समेत सम्पर्कमा नआएकाले वेपत्ताको संख्या र घटनाबारे यथार्थ विवरण सुरक्षाकर्मीले नपाएको बताएको छ ।
हराएकाहरुको खोजीका लागी पौडीबाज सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन टोली परिचालन गरिएको प्रजिअ रिजाले जानकारी दिए । घटनास्थलमा ठूलो संख्यामा स्थानीय जम्मा भएका छन्। बगाएको डुंगासमेत फेला परेको छैन। डुंगामा महिलाहरु पनि सवार रहेको अनुमान छ ।