जर्मन विद्यार्थीको सहयोगमा माईजोगमाईमा सामुदायिक भवन निर्माण हुँदै

  सुजता सुनुवार
0 Shares

इलाम : जर्मन विद्यार्थीको सहयोगमा ६ लाख लगानीमा इलाममा सामुदायिक भवन निर्माण कार्य सुरु भएको छ ।

जिल्लाको माइजोगमाई गाउँपालिका वडा नम्बर १ मा ६ लाख रुपैयाँको लगानीमा भवन निर्माण कार्य सुरु गरिएको हो । सो भवन निर्माणका लागी जर्मनबाट नेपाल आएका विद्यार्थीले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । शान्तिदीप समुहले ५० हजार खर्चने र गाउँपालिकाबाट १ लाख ५० हजार विनियोजित बजेटबाट भवन निर्माण कार्य भइरहेको समुहकी कोषाध्यक्ष कुसुम निरौलाले जानकारी दिईन् ।

समुहका अनुसार जर्मनबाट आएका विद्यार्थीले खाजा खर्च कटाएर आफूले लगाएको पुरानो कपडा बेचेर, केक, कफी लगायत बेचेर जम्मा गरेको रकम नेपालमा आएर सामुदायिक भवन निर्माणमा खर्च गरेका हुन् ।

जर्मनको हेडनवर्ग विश्व विद्यालयमा अध्ययनरत एक जना पुरुष सहित ६ जना विद्यार्थी विदाको सदुपयोग गर्दै नेपाल आएका हुन् । आफ्ना तीन महिना विदाको सदुपयोग गर्दै विद्यार्थीहरुले महिलाहरुको क्षमता तथा आर्थिक विकासमा सघाऊ पु¥याउन भवन निर्माणमा आर्थिक र श्रमदान दुवै गरीरहेका बताइएको छ ।

विद्यार्थीसँगै स्थानिय तालिम प्राप्त पन्ध्र जना डकर्मीहरुले निःशुल्क श्रमदान गरीरहेका छन् । जर्मनका विद्यार्थीहरु ४२ दिनसम्म भवन निर्माण कार्यमा खटिने गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए । ‘दुर्गममा रहेका महिला र विपन्न परिवारलाई सामाजिक कामका लागि सहयोग गर्ने लक्ष्यका साथ जर्मनका विद्यार्थीहरु नेपालमा आएर सहयोग गर्दा हामीलाई थप हौसला मिलेको छ’ अध्यक्ष राईले भने ।

सुनगाभा विकास संस्थाको सहजीकरण तथा दीगो विकासको लागी साझेदारी नेपाल (पिएसडी) को समन्वयमा भवन निर्माण सुरु भएको हो । भवन निर्माणका लागि स्थानीय समाजसेवी स्वर्गीय खड्गबहादुर निरौलाको नाममा उनका परिवारले ८ आना जग्गा निःशुल्क उपलब्ध गराएको संस्थाका सचिव कृष्ण श्रेष्ठले जानकारी दिए ।

निर्माणाधिन सामुदायिक भवन एक तलाको एक कोठे हुनेछ । भवन पक्की बन्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार