होसियार गर्नुहोस्, तपाइले सेलाएको फूलपातीले माछा मरे

झापा : पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा जलेश्वर धाममा रहेको पोखरीका अधिकांश माछा मरेका छन् । मन्दिरमा आउने दर्शनार्थीको लापरबाहीका कारण पोखरीका माछा मरेका हुन् ।

साउनको अन्तिम सोमबार विभिन्न स्थानबाट भक्तजनहरू जलेश्वर धाममा जल चढाउन आएका थिए । उनीहरूले चढाउन ल्याएका सामानहरू पोखरीमा फालेपछि फुडपोइजनका कारण माछा मरेको अनुमान गरिएको छ ।

यसैबीच, धाम सञ्चालक समितिले भक्तजनलाई पोखरीमा आफूले चढाउन ल्याएको सामग्री नलगाउन अनुरोध गरिएको भए पनि उनीहरूले अटेर गरेको जनाएको छ । पोखरीमा त्यस्ता वस्तु हालिएका कारण माछामा फुडपोइजन भएर धेरै माछा मरेका र अन्य थुप्रै माछा मर्ने अवस्थामा पुगेका धाम समितिका महासचिव विष्णु निरौलाले बताए ।

पोखरीमा मागुर, रोहु, पोटी लगायतका विभिन्न प्रजातिका माछा छन् । धार्मिक पोखरीमा रहेका माछा मरेपछि पोखरी नै सफा गर्ने योजना बनाएको समितिका सदस्य शेखर प्रधानले बताए ।

समितिका अध्यक्ष नवीन गट्टानीका अनुसार यस्तो समस्या पहिला पनि आएको थियो । यसपटक पनि समस्या आएकाले अबका दिनमा पोखरीमा फूलपाती, तिल, जौ लगायतका सामान नपस्ने गरी तारजाली लगाउने र आउँदा दिनमा यस्तो समस्या दोहोरिन नदिने गरी माछाको संरक्षण गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार