विश्व आदिवासी दिवस र नेपाल

प्रत्येकवर्ष अगस्ट ९ तारिखमा संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर आदिवासी जनजाति दिवस मनाउने गरिन्छ । यसरी विश्वमा २३ डसेम्बर सन् १९९४ को संयुक्त राष्ट्रसंघको साधारण सभाले ९ अगस्टलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि सारेको थियो ।

संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशकसमेत कर्म र मर्यादाका लागि दशक भन्ने नाराका साथ आह्वान गरेको थियो । विश्वको कुल जनसंख्याको पाँच प्रतिशत रहेका आदिवासीहरूले विश्वको कुल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन्।

पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ किनकि पछि बसोवास गरेर आएका आप्रवासी समुदायहरू पेसा, पहिचान, बसाइ र अन्य तवरले हावी हुँदै आएका छन् ।१० वर्षअघि १० सेप्टेम्बर २००७ मा आदिवासीहरूको अधिकार, मर्यादा र आत्मसम्मानको रक्षार्थ संयुक्त राष्ट्रसंघको घोषणा र त्यसको उपलब्धीहरूका वरिपरि नारा कथिएको थियो ।

यसरी यी समुदायहरूलाई आदि भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नोे पुस्ता धानिरहेका कलाकौशल र हस्तकलालगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनेर भनिन्छ ।

यसरी मानव सभ्यताको विकाससँगै अनि क्रमिक बसाइँसराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई उनीहरूको पहिचान र अस्तित्व, फरक गुण अनि रीतिहरूमा कमी आउन थालेको छ । संयुक्त राष्ट्रसंघको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलन अनुरूप सुहाउँदो शैक्षिक प्रणाली र संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ ।

विभिन्न अध्ययनहरूले स्पष्टसँग आदिवासी र गैरआदिवासी समुदायबीच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुविधाहरूमा भएको ठूलो असमानता देखाउँछ, आफ्नोे पहिचान र थलोका लागि पुस्तौँदेखि एकै ठाउँमा खनिखोस्री, प्रकृतिसँग पौठेजोरी खेल्दै आएका आदिवासी समुदाय विश्वका लागि सम्पत्ति हो र उनीहरूको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा बहुजाति बहुधर्म र बहुसंस्कृित भएको देशमा पनि विभिन्न प्रकारका आदिवासी समुदायहरू छन् र तीव्र रूपमा उनीहरूले आफ्नोे पहिचान, रीति अनि मौलिकता भुल्दै गएको, नयाँ पुस्ताले पुराना कुराहरूलाई निरन्तरता दिन नसकेको र आफ्नोे मौलिक थरसमेत हराउँदै गएको पाइन्छ ।

२३औँ विश्व आदिवासी दिवस, नेपालमा पनि भव्यताका साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले २३औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो । यसर्थ, राजधानीका विभिन्न स्थानमा पत्रकार सम्मेलन गरी नेपालका आदिवासी जनजातिहरूको अधिकार, प्रतिनिधित्व र स्वशासनलाई यसवर्षको मूल नारा बनाइएको पनि स्पष्ट पारे ।

महासंघले यस वर्षको आदिवासी जनजाति दिवस देशभित्र र बाहिर पनि विभिन्न कार्यक्रमका साथ मनाउन सुरु गरेको छ । यस महासंघका अध्यक्ष जगतबहादुर बरामले आदिवासी जनजाति दिवसलाई सरकारी स्तरबाटै मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षण गराइएको स्मरण गराउनु भयो ।

यसरी आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको ११औँ वर्षगाँठ’ भन्ने नारासहित यो दिवस विश्वभर मनाइरहँदा नेपालका आदिवासी जनजातिले पनि सशक्त आन्दोलनको आधार निर्माणका रूपमा मनाउने जानकारी गराइएको छ।

नेपाल आदिवासी जनजाति महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा अधिकार, प्रतिनिधित्व, स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मूल नारासहित साउन १८ देखि ३० गतेसम्म मुलुकभर विभिन्न कार्यक्रम गरिने जानकारी गराइयो । संयुक्त राष्ट्रसंघद्वारा ठीक २३ वर्षअघि घोषणा गरिएको ‘विश्व आदिवासी दिवस’ लाई यो वर्ष २३औँ संस्करणका रूपमा मनाउन थालिएको हो ।

नेपालको आदिवासी जनजाति आन्दोलनको प्रमुख मुद्दा भनेको पहिचान, सामूहिक अधिकारसहितको स्वायत्त शासन र जातिय जनसंख्याका आधारमा राज्यका हरेक अंगमा समानुपातिक प्रतिनिधित्व रहेको सम्बन्धित क्षेत्रले जानकारी दिएका थिए। ०४७ सालमा स्थापना भएको नेपालको आदिवासी जनजाति आन्दोलनको नेतृत्वदायी संगठन महासंघले आदिवासी जनजातिका सवालमा आवाज उठाउँदै आइरहेको छ ।

महासंघले विकासका नाममा गरिने विभित्र आयोजना तथा परियोजनाले आदिवासीको मानवअधिकारको हनन् हुनुका साथै परम्परागत थातथलो तथा भूमि अतिव्रmमण भएको भन्दै विरोध जनाएको छ । हाम्रो देशमा हरेक राजनीतिक, आर्थिक परिवर्तन, देशको विकास र समृद्धिका लागि आदिवासीले रगत र पसिना बगाइरहनुका साथै उल्लेखनीय त्याग र योगदान गरेका थिए ।

यसरी आएका आदिवासी जनजातिका सवालमा संविधान संशोधन गरेर आदिवासी जनजातिलगायत असन्तुष्ट सामाजिक समूहको मुद्दालाई सम्बोधन गर्न सरकारसँग माग पनि गरेका थिए। समग्रमा भन्नुपर्दा सन् २०१८ को नारा आदिवासीहरूको अधिकारका लागि संयुक्त राष्ट्रसंघले समय सुहाउँदो नारा घोषणा गरेको छ । यसरी विभिन्न वर्षहरूमा विभिन्न प्रकारका नारा दिँदै आएको छ ।

यसबाट विश्वमा रहेको आदिवासीहरूको समस्या समाधान एकातिर हुँदै जाने छ भने अर्कोतिर उनीहरूको संख्यामा पनि क्रमिक रूपमा वृद्धि हुँदै गएको सम्बन्धित निकायले अनुमान लगाएको बुझिन्छ । यसर्थ आदिवासी समुदायका लागि सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो, चाहे हामी गैरआदिवासी हौँ या आदिवासी समुदाय हौँ ।

आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उद्गम विन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ । अतः आदिवासी समुदायको मर्यादा र सम्मान पनि उनीहरूले जोगाउन सकेका परम्परा र सस्कारलगायत तिनको प्रयोग र प्रस्तुतीमा उनीहरूको क्रियाशीलतामा पनि निर्भर गर्दछ । यसरी विश्व आदिवासी दिवसलाई भव्य रूपमा मनाउन नेपालले पनि उक्त दिन विभिन्न किसिमका भव्य कार्यक्रम गर्ने जानकारी दिएको छ । सौर्य दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार