गोपाल गिरी
कन्याम : सूर्योदय नगरपालिका वडा नम्बर ६ कन्यामस्थित कन्याम टोल विकास संस्था र स्थानीय बासिन्दाको सक्रियतामा वर्षा याममा पनि यस क्षेत्रमा नियमित रूपमा सवारी साधन चलिरहेको छ ।
बिगतका वर्षहरुमा वर्षा यामको सुरुवातसँगै ठूल्ठूला खाल्डो पार्ने र मानिसहरुलाई पनि आवातजावत गर्न कठीन हुने गरेकोमा यस पटक भने सहज भएको छ । आवातजावत गर्न कुनै अफ्ठेरो महसुस यहाँका बासिन्दाले गरेका छैनन् ।
कन्याम टोल विकास संस्था, बाटो उपभोक्ता समिति र स्थानीय बासिन्दाको संयुक्त पहल र प्रयासमा बाटोको किनारमामा नाली निर्माण र व्यवस्थापनको काम भएपछि बाटो भत्किने समस्याको निराकरण भएको छ ।
त्यसैगरी प्रतिघर एक हजारको दरले रकम संकलन गरी बाटो बिग्रने, चिप्लिने ठाउँमा र त्यस्ता सम्भावना भएको ठाउँमा ढुङ्गा, गिट्टी, रोडा बिछ्याइएपछि यस पटकदेखि नियमित सवारी साधन चलिरहेको छ । जसका कारण गाउँमा उत्पादन भएको तरकारी तथा फलफूल डोकोमा बोकेर राजमार्गसम्म निकाल्नसपर्ने समस्या हटेको छ ।
यसअघि बाटोको संरक्षण गर्न भन्दै ट्याक्टर चलाउन केही समय प्रतिबन्ध लगाइएको छ । तर अहिले भने ट्याक्टरले बाटो बिगारे ट्याक्टर धनीले नै बनाउने सहमति भएपछि चलाउन दिएइको छ ।
साथै बाटो संरक्षणका लागि मासिक पहिलो शनिबार सबै टोलबासीले अनिवार्य टोल सरसफाई, बाटो वा नाली मर्मत सम्भार गर्न समेत थालिएको । अनुपस्थित भए मासिक तीन रुपैयाँ जरिवाना असुल्ने समेत सामूहिक निर्णय भएको टोल विकास संस्थाका अध्यक्ष लेखनाथ दाहालले बताए ।