नयाँ बुलन्द
इलाम : इलामका यातायात व्यवसायीहरुले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको गुनासो आउन थालेपछि जिल्लास्थित सरोकारवालाहरुले चासो देखाएका छन् ।
आधिकारिक रुपमा भाडा वृद्धि नभएपनि व्यवसायीहरुले यात्रीबाट आफूखुसी भाडा बढाएर असुल्न थालेपछि सोमबार सदरमुकाममा वृहत अन्तरक्रिया गरियो । उद्योग वाणिज्य संघको हलमा ‘ट्राफिक व्यवस्थापन प्रभावकारीता तथा कार्यान्वयन सम्बन्धी’ छलफल गरिएको हो ।
ट्राफिक व्यवस्थापनमा भूमिका निर्वाह गर्ने सरोकारवालाहरुको सहभागितामा भएको कार्यक्रमका सहभागीहरुले यातायात व्यवसायीहरुको मनपरीतन्त्र नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ र इलाम नगरपालिकाका समेतको उपस्थतीमा भएको कार्यक्रममा इलाममा ट्राफिक व्यवस्थापन सम्बन्धी रहेको समस्याका बारेमा छलफल भएको थियो ।
कार्यक्रमका सहभागीहरुले बजार क्षेत्रमा पार्किङको अभाव रहेको र यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको गुनासो राखेका थिए । कार्यक्रमका सहभागी निरोज खड्गीले विर्तामोडदेखि इलामसम्मको भाडादर २ सय ५० रुपैयाँ रहेपनि व्यवसायीले ३ सय लिएको भन्दै कारवाहीको माग गरे ।
जिल्ला ट्रफिक प्रहरी कार्यालयका इन्चार्ज पदम राईले बढि भाडा असुल्ने सवारीलाई तत्काल कारवाही गर्ने प्रतिवद्धता जनाए । यसअघि यात्रीको गुनासोका आधारमा बढि भाडा असुल्ने १० वटा सवारीलाई कारवाही गरिएको उल्लेख गर्दै इन्चार्ज राईले यात्रीबाट गुनासो आएको १ घण्टाभित्र कारवाही गर्ने जनाए । त्यसका लागि तत्काल खबर गर्न समेत यात्रुहरुलाई आग्रह गरे ।
यता पूर्वेली जीप तथा ट्याक्सी यातायात प्राइभेट लिमिटेडका अध्यक्ष गृष्म सुब्बाले समेत भाडादरमा कुनै वृद्धि नभएको बताए । साविककै भाडदर कायम रहेको बताउँदै उनले कसैले बढि लिएको पाइए आफूहरुले समेत कारवाही गर्ने प्रतिवद्धता जनाए ।
इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बजार क्षेत्रमा रहेको पार्किङको समस्या समाधानका लागि नगरपालिका आवश्यक पहल गर्ने बताए ।
सुन्दर शान्त नेपाल नाकम संस्थाको आयोजनामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, सञ्चारकर्मी, विद्यार्थी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।






















































