लिम्बु कानुनी अभिलेख

काठमाडौँ : आधुनिक कानुनको आधार नै सामाजिक प्रथाको विकसित रूप हो । नेपालमा पनि प्रथाजनित कानुन छन् । जसलाई अंग्रेजीमा ‘कस्टोमरी ल’ भनेर चिनिन्छ । तर प्रथाजनित कानुन सीमित समुदायमा मात्र लागू हुने र कतिपय अवस्थामा आधुनिक न्यायप्रणालीको बर्खिलापमा रहने हुँदा प्राथमिकता दिने गरिएको छैन । यद्यपि प्रथाजनित कानुनअनुसार सम्बन्धित समुदाय निर्देशित भइरहेको हुन्छ ।

त्यसको उदाहरण ‘तुम्याङ जुडिसियरी सिस्टम इन लिम्बु कम्युनिटी : ए कस्टोमरी ल’ (लिम्बु जातिमा तुम्याङ न्याय प्रणाली : प्रथाजनित कानुन) पुस्तक हो । अधिवक्ता अमृता थेबेले अध्ययन, अनुसन्धानपछि कृति प्रकाशनमा ल्याएकी हुन् । यो पुस्तक नेपाली भाषामा २०६९ सालमा प्रकाशन भएको थियो भने त्यसैको अंग्रेजी भरखरै (सन् २०१८) प्रकाशनमा ल्याइएको छ ।

लिम्बु जनजीवन मुन्धुम दर्शनले निर्देशित गरेको छ । मुन्धुमको व्याख्या भएजसरी नै सामाजिक रीतिथितिहरू बाँधिएका छन् । समाज, परिवार, व्यक्ति–व्यक्तिसम्म प्रभाव पारेको छ । एक पुस्ताबाट अर्को पुस्तामा त्यही क्रम निरन्तर चलिरहेको छ । समाज भाँड्ने छुल्याहालाई काबुमा ल्याउने नियम प्रकृतिबाटै सिक्ने काम भएको पाइन्छ ।

मुन्धुम भन्छ— घामलाई पृथ्वी तलका पशुपक्षीको चुर्तीफुर्ती मन पर्दैन । उसलाई डाह हुन्छ । त्यसैले जलचर थलचरलाई बेस्सरी सेक्न थाल्छ । त्यसरी पोल्न थालेपछि दुष्ट घामबाट बच्न भूमिपुत्रहरू ‘लुङबोङबा खाम्बोङबा’ को अगुवाइमा पुच्छर डढेका दुम्सी, प्वाँख डढेका चरालगायत मनुष्य, पशुपक्षीहरू चुम्लुङ (सभा) बस्छन् । सभाले घामको अन्त्य गर्छ । त्यसपछि आधा घाम र आधा रात भएर बित्ने गरेको हो भनिन्छ । त्यही चुम्लुङ लिम्बु जनजीवनको पहिलो न्यायिक प्रक्रिया थियो । चुम्लुङमा उपस्थित प्रजाहरूलाई न्याय दिलाउने निकाय तुम्याङ हो ।

लिम्बु समाजमा आजपर्यन्त झैझगडा हुँदा मिलाउने या समाजलाई नयाँ दिशानिर्देश गर्न तुम्याङहरू (गाउँघरका ठूलाबडा, गन्यमान्य, भद्रभलाद्मी) चुम्लुङ (कचहरी वा सभा) बसेर निर्णय गर्छन् । जग्गाजमिनको साँध सिमाना मिलाउने काम तुम्याङले गर्छन् । सबैखाले सांस्कृतिक कार्यदेखि न्यायिक कार्यहरू तुम्याङको उपस्थिति अनिवार्य रहन्छ । मुन्धुमलाई जीवन्त तुल्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा तुम्याङहरू, फेदाङ्बा, फेदाङ्मा, साम्बा, येबा, येमाहरू प्रमुख हुन् । लिम्बुको मुन्धुम संस्कार, संस्कृति, परम्पराबारे जानकार व्यक्ति नै तुम्याङ हुन् जसले न्याय र सांस्कारिक नीति परम्परालाई पूर्णता दिन्छन् ।

सामाजिक प्रथा निर्माणको पुस्तौंदेखि तन्किएको त्यान्द्रो अटुट छ । लिम्बु समुदायमा बाहिरका व्यक्तिलाई आफ्नो वंशभित्र ल्याउन विधि चोकफुङ अर्थात् भैयाद भनिन्छ । चुम्लुङ बसेर वंशमा प्रवेश अनुमति दिने काम तुम्याङले गर्छन् । आफ्नो सन्तान नभएको अवस्थामा धर्मपुत्र राख्ने ससिङ लाप्मा संस्कार गरिन्छ । छोरीचेलीले माइतबाट आफ्नो घरतिर किरिया सार्ने संस्कार मेलुङ फुसिङ सम्पन्न नगरेसम्म छोराछोरी माइतकै हुन्छ । त्यसनिम्ति ज्वाइँले चुम्लुङ बसेर सैमुन्द्री दस्तुर बुझाएपछि तुम्याङले उनलाई श्रीमती, छोराछोरीमाथि अधिकार प्रदान गर्छ ।

विवाह लगनमा फेदाङबाले तुम्याङहरूको रोहवरमा बेहुलाले बेहुलीको मजेत्रोमा सत्यवाचा गरी ढुंगा अर्थात् चाँदीको ढ्याक बाँधिदिने चलन छ । जसलाई युप्पालुङ भनिन्छ । सत्यवाचामा फेदाङ्बाले भन्छ– यदि श्रीमतीले लोग्नेसँग घरजम गरिखान नसकेमा श्रीमतीले लोग्नेलाई यो युप्पालुङले लोग्नेको निधारमा हानेर गएमा श्रीमतीले लोग्ने छोडेर गएको ठहरिनेछ । त्यसरी युप्पालुङले हानेर लोग्ने छाडेर गएपछि ती महिला फेरि कन्या हुन्छ भन्ने मान्यता राखिन्छ ।

विवाहमा तुम्याङहरूको रोहवरमा बेहुला पक्षले बेहुली पक्षलाई बुझाउनुपर्ने गरगहनालाई सुनौली र रुपैयाँ पैसालाई रुपौली भनिन्छ । भावी दिनमा छोरीचेली विवाह गरेर गएपछि दु:ख पाएमा उनैलाई दिने गरी उक्त सम्पत्ति माइतीले रीतका रूपमा लिने गर्छन् ।

हाडनातामा हुने व्यभिचारी व्यवहारले बिहेवारी हुन गएर तुम्याङहरूले चुम्लुङ बोलाएर छिनोफानो गर्छन् । हाडनाता ठहर भएमा गाउँनिकाला गर्ने वा अर्कै थर दिने गर्छन् । बाबु पत्ता नलागेका बच्चालाई तुम्याङहरू चुम्लुङ बसेर आमालाई आधार मानेर सामाजिक आधार निर्माण गरिदिन्छन् । कसैकी पत्नी अर्कैले लगेमा लोग्नेले ससुरालीमा तिरेको सुनौली र रुपौलीको आधारमा तुम्याङले जारबाट जारी उठाइदिन्थे । सामाजिक मानमर्यादामाथि आँच पुग्ने गरी गाली बेइज्जती हुन पुगे गल्ती गर्नेलाई माफी माग्न लगाई शिर उठाइदिने काम तुम्याङले गर्छन् ।

लिम्बु समुदायमा व्याप्त तुम्याङ न्याय प्रणाली आधुनिक कानुन र मुन्धुम संस्कार विचलनले बिटुलो बन्दै गएको स्थिति छ । अर्कोतर्फ बसाइसराइसँगै भाषिक, सांस्कृतिक परिवेशले चेपुवामा पारेको छ । लिम्बु पहिचानलाई लिम्बुवानमा निरन्तर राख्नका निम्ति तुम्याङ प्रणालीलाई संस्थागत रूपमा बचाउन जरुरी रहेको लेखक अमृता थेबेले औल्याएकी छन् । ‘वर्तमान स्थानीय निकायमा यस्ता प्रथागत कानुनहरू प्रयोगमा ल्याउन जरुरी देखिन्छ । प्रजाजनित कानुनहरू बढी व्यावहारिक छन् । यस्ता कानुनहरूलाई कानुनी मान्यता दिन जरुरी छ । यस्तो हुन सकेमा विशेषगरी यो देशका भूमिपत्रहरूलाई आफ्नो माटो, इतिहास, परम्परा र परम्परागत ज्ञानको अपनत्व महत्त्व हुने निश्चित छ ।’ निचोडमा छ । मुस्ताङका जनप्रतिनिधिहरूले जसरी ‘मुखिया प्रथा’ लाई पुन:स्थापना गरेका छन् त्यसैगरी प्रदेश नं १ लिम्बुवानमा पनि तुम्याङ प्रणालीलाई जीवित राख्न सान्दर्भिक रहेको पक्ष पुस्तकले उजागर गरेको छ ।
–गणेश राई/ कान्तिपुर कोसेलीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार