नयाँ बुलन्द
इलाम : जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले देशलाई विकसित र समृद्ध बनाउन सीपयुक्त युवा जनशक्तिको उत्पादन गर्नु अपरिहार्य रहेको बताएका छन् ।
जिल्ला युवा समितिले सञ्चालन गरेको तीन महिने (३९० घण्टे) एड्भान्स ब्युटीपार्लर तालिमको उद्घाटन गर्दै अदक्ष जनशक्तिबाट रुपान्तरण सम्भव नहुने भन्दै प्रमुख बरालले दक्ष युवा जनशक्ति उत्पादन गरेर समाज विकासमा लाउनुपर्नेमा जोड दिए ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले युवाहरुलाई सीप सिकाएर मात्रै नपुग्ने भान्दै सीपयुक्त युवाहरुलाई उद्यमशिल बन्नका लागि सबै मिलेर वातावरण बनाउनुपर्ने बताए । ‘युवालाई दक्षताको लागि सीप अनिवार्य छ’ प्रजिअ तिम्सिनाले भने, ‘तालिम पाएर व्यवसायमा जोडिनु पर्दछ ।’
तालिम उद्घाटनका अवसरमा बोल्दै जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरले कार्यालयको युवा सीप विकास कार्यक्रमअन्तर्गत तालिमको आयोजना गरिएको बताए । अध्यक्ष शंकरले वर्तमान सरकारले युवामैत्री नीति, कार्यक्रम तथा बजेट ल्याएको भन्दै संविधानले प्रत्याभूत गरेको अधिकार र सरकारले ल्याएको युवामैत्री बजेट कार्यान्वयनमा जोड दिए ।
जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष शंकरको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख बरालको प्रमुख आतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी तिम्सिनाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा घरेलु महासंघ इलामका अध्यक्ष दिनेश श्रेष्ठ, प्रशिक्षक अञ्जना पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा १० जना युवा महिलाहरुको सहभागी रहेको जिल्ला युवा समितिको कार्यालयका अतीत योङ्हाङले जानकारी दिए ।