छुर्पीको माग घटेपछि व्यवशायी मारमा

इलाम : नेपाली दुधको छुर्पी तेस्रो मुलुकमा बिक्री हुन थालेपछि केही समय अघि दुधको माग बढेको थियो।

निजी उद्योगले दुध किनेर छुर्पी बनाउन थालेका थिए। डेरी र प्रशोधन उद्योग खोल्ने क्रम बढेको थियो। तर छुर्पीको माग अहिले घटेको उत्पादकको भनाइ छ। जसको कारण अहिले निजी उद्योगले पनि डीडीसीलाई दुध बेच्न थालेको इलाम नगरपालिका ४ का डेरी सञ्चालक विष्णु दुलालले बताए।

झापाको एनएमसी डेरी, कामधेनु डेरीलगायतले इलामसम्म लगेर डीडीसीलाई दुध बेच्न थालेको छ। डीडीसीमा दुधको आपूर्ती बढेर व्यवस्थापन हम्मे परेको छ। ती उद्योगले डीडीसीको कुटिडाँडा चिस्यान केन्द्रमार्फत दुध बिक्री गर्ने गरेका छन्। वैशाखदेखि डीडीसीमा बढी दुध आउन थालेको यादव बताउँछन्। किसानले स्थानीयस्तरमा बेचिनसकेको दुधको क्रेता डीडीसीले बिहीबारदेखि दुध नकिन्ने भनेपछि उत्पादित दुध खेर जाने भएको छ।

छुर्पीको उत्पादन घटेसँगै इलामका छुर्पी व्यवसायीले दुध खरीद बन्दमात्र गरेका छैनन्, किसानबाट यसअघि किनेको दुधको मुल्य तिर्न नसक्ने अवस्थामा पुगेका छन्। सुर्योदय नगरपालिका बरबोटेका दिनेश महतले दैनिक २ हजार पाँच सय लिटर दुध खरिद गर्ने गरेका थिए। अहिले आधा भन्दा कम मात्र प्रशोधन गर्ने गरेको उनले बताए। इलाममा चीजका २५, ललिपप १३ र टोलै पिच्छे छुर्पी उद्योग खुलेका छन्। छुर्पी बिक्री नभए पनि नेपाली बजारमा बिक्री हुने ललीपप, बम्बैसन, पनिर, खुवाको माग भने सन्तोषजनक रहेको दुध व्यवसायीले जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार