संयुक्त लिम्बुवान स‌ंघर्ष समिति ब्युँतियो

नयाँ बुलन्द

धरान : एतिहासिक पृष्ठभूमिका आधारमा अरुण सप्तकोशी पूर्वको भूभागलाई पुनर्संरचना गरी लिम्बुवान स्वायत्त प्रदेश घोषणाको माग गर्दै संयुक्त लिम्बुवान स‌ंघर्ष समिति गठन भएको छ ।

किरात याक्थुङ चुम्लङ लिम्बुवान प्रदेश समितिको संयोजनमा सुनसरीको इटहरीमा बुधबार भएको भेलाले चुम्लुङकै संयोजनमा विभिन्न पहिचान पक्षधर सात राजनीतिक दल र संगठन सम्मिलित संघर्ष समिति गठन भएको हो ।

संघर्ष समितिमा संघीय समाजवादी फोरम नेपाल, संघीय लिम्बुवान मञ्‍च नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, अखिल नेपाल लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, याम्फू स्वायत्त मञ्‍च, लिम्बू विद्यार्थी मञ्‍च र याक्थुङ युवा मञ्‍च सम्मिलित छन् ।

प्रत्येक संगठनबाट ३/३ जनाका दरले प्रतिनिधि पठाउने निर्णय भएको लिम्बू विद्यार्थी मञ्‍चका अध्यक्ष फिपराज बेघाले जानकारी दिए । आगामी २० बैशाखमा बस्ने बैठकले आन्दोलनको खाका तय गर्ने बेघाले बताए ।

लिम्बुवान संयुक्त संघर्ष समितिले यसअघि संविधान जारी हुने बेलामा चुम्लुङकै संयोजनमा गठन भई लिम्बुवान प्राप्तिका लागि विभिन्न आन्दोलनमा सहभागी भएको थियो । तत्कालिन आन्दोलनमा उठाएको माग संविधानमा नसमेटिएपछि समितिले संविधानको विरोध गर्दै संविधान अस्वीकार गरेको थियो ।

पछिल्लो समय प्रदेशको नामाङ्करणको चर्चापरिचर्चा सुरु भएपछि लिम्बुवानको मागलाई सशक्त बनाउन संघर्ष समिति गठन भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार