नमीन ढकाल
गाँउका दाजुदिदी फुटबल, जर्सी र बुट बोकेर हिडेको देख्दा इलामको सुर्योदय नगरपालिका–१२ तिनघरेकी एन्जिला तुम्वापो सुव्वा मनमनै सोच्थिन ‘म पनि यसरी नै स्वतन्त्र रुपमा फुटबल खेल्न पाउने दिन कहिले आउँला ।’ उनी घरमा बाबुआमाको डरको कारण भागी भागी फुटबल खेल्न जाने गरेकी थिइन ।
१२÷१३ बर्षको उमेरमै पुरुष टिमहरुसंग प्रतिस्पर्धा गर्ने उनको क्षमता देखेर दिदि मनिता राई आफै पनि खेलाडी भएकाले एन्जिलालाई सर्मथन गर्थिन । घरबाट खासै सर्मथन नभएकाले उनी अरुकै च्यातिएको जुता र फाटेको जर्सी लगाएर अभ्यास गर्न जान्थिन । घरको सवै काम सकेर फुटबल खेलेर बेलुका फर्किदा कति रात भोकै सुतेको तितो यर्थाथ पनि छ उनिसंग । फुटबल खेलमा सुरुवात गर्दा क्षण सम्झिदै एन्जिला भन्छिन ‘ ममीले सर्पोट गर्नुहुन्थ्यो तर बाबाले भने गाली गर्नुहुन्थ्यो कति रात त भात समेत खान पाइन । तर हिम्मत भने हारेको थिइन ।’ यसरी नै अथक मेहनतका कारण १ बर्षदेखी राष्ट्रिय महिला फुटबल टिमको पहिलो रोजाइको गोलरक्षक बन्न पाउँदा खुशी लागेको उनी बताउँछिन ।
फुटबलमा पहिलो पाइला
२०६८ सालमा फिक्कल पान्दाममा महिला फुटबल प्रतियोगिता हुने भएपछि उनी फरर्वाड पोजिसनमा खेल्न गएकी थिइन । तर उनको टिमबाट खेल्ने गोलरक्षक नआएपछि दिदीको आग्रहमा मन नलागी नलागी पनि गोल पोष्ट सम्हालेकी थिइन । उक्त खेलमा पान्दामले कन्याम टिमलाई हराउँदै उपाधी जितेपछि भने दाजु मिलन राईले गोलकिपर खेल्यो भने राष्ट्रिय टिमबाट समेत खेल्न पाइन्छ भनेपछि किपर खेल्न थालेको उनी सुनाउछिन । त्यसबेला सम्म फुटबल खेलमा महिलाको राष्ट्रिय टिम हुन्छ भन्ने समेत उनलाइ थाहा थिएन । सोही बर्ष इलाममा महिला फुटबल खेलाडी छनौट हुने भएपछि मनिता राई र भिनाजु सोनाम योल्मुले घरमा बाबुआमालाई राजी गराएर छनौट प्रतियोगितामा लगेका थिए । इलामबाट छनौट भएपछि क्लोज क्याम्पमा बस्दा उनले प्रशिक्षक दर्शन भक्तराजबाट फुटबल खेलको प्राविधिक ज्ञानहरु हासिल गरिन ।
उनी भन्छिन ‘ त्यसबेला मलाई फुटबल खेलको पोजिसनको बारेमा समेत ज्ञान थिएन । इलाममा गोलकिपर सिकाउने कोचको अभाव थियो दर्शन गुरुले यसरी गर उसरी गर भनेको भरमा खेल केही सुधार आयो ।’ इलामबाट छनौट भएपछि विराटनगरमा क्षेत्रिय छनौट प्रतियोगितामा इलाम टिम प्रथम हुँदा गोलपोष्ट सम्हाल्ने जिम्मा उनले पाएकी थिइन ।
सोही बर्ष भारतको विहारमा भएको प्रतियोगितामा सुस्मा राईले पुर्वाञ्चल टिमको गोल पोष्ट सम्हाल्दा एन्जिला दोश्रो रोजाइको गोलरक्षको रुपमा वेञ्चमै सिमित भइन । पुर्वाञ्चल टिमबाट डेव्यु गर्न भने उनले छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८ फागुन नै कुर्नुप¥यो । नियमित गोलरक्षक सुस्मा राईको अनुपस्थितीका कारण १४ बर्षिया एन्जिलाले मध्यमाञ्चल विरुद्ध पुर्वाञ्चलको गोलपोष्ट सम्हालेकी थिइन । गिता कठेतको नेतृत्वमा उत्रिएको पुर्वाञ्चल टिम सो प्रतियोगितामा चौथो भएपनि एन्जिलाको गोलरक्षा गर्ने शैली र हिम्मतको चर्चा सर्वत्र प्रतियोगिता भरी भयो ।
एपिएफ क्लबमा प्रवेश
छैटो राष्ट्रिय खेलकुदमा एन्जिलाको खेलकौशल देखेर विभागीय टिम एपिएफका अफिसियल नर बहादुर राई र प्रेम श्रेष्ठले अनुवन्ध गराउन इच्छा देखाए । करफोक विद्या मन्दिरमा कक्षा ९ मा अध्ययन गर्दै गरेकी एन्जिलालाई जागिर समेत दिने भनेपछि परिवारले काठमाण्डौ पठाउन सहमत भए । दिदि मनिता र भेना सोनाम योल्मुले उनलाई काठमाण्डौ लगेका थिए । राजधानी पुुगेपछि उनी इलामकै खेलाडी रञ्जना दर्जीसंग बस्न थालिन । पुर्ण स्मारिका निम्न माध्यमिक विद्यालयबाट कक्षा ८ उर्तिण गरेर करफोकमा ९ कक्षा अध्ययन गर्दै गरेकी उनी काठमाण्डौ गएपछि प्रेम श्रेष्ठले न्यु अरुणोदय बोर्डिङमा कक्षा ८ मा नै भर्ना गरिदिए । गाँउघरमा सेभेन साइडको मैदानमा खेलेकी उनलाई हलचोक मैदानमा खेल्न सुरुमा निक्कै असहज भयो । प्रशिक्षक चन्दन सरकारले नियमित जसो प्रशिक्षण दिएपछि फुटबल पोजिसनको बिषयमा निकै जानकार भइन ।
टिम सेटमा पर्न कसरत
टिम सेटमा पर्नको लागी उनले निकै कसरत गर्नुप¥यो । धेरै अधि देखी एपिएफको गोलपोष्ट अम्बिका दाहालले सम्हाली रहेको अवस्थामा नवप्रवेशी भएकाले एन्जिलाले हतपत अवसर पाउदैन थिइन । एपिएफले २०६९ सालको एनसेल कपमा पुलिसलाई हराउदै उपाधी जित्दा र धनगढीमा सम्पन्न लिगमा दोश्रो हुँदा समेत उनी दोश्रो रोजाइको गोलरक्षकको रुपमा बेञ्चमा नै सिमित हुनुप¥यो । नेपाली सेनाको आयोजनामा हुने प्रधानसेनापती कपको पहिलो संस्करण २०६९ सालमा उनले आफनो पुर्व टिम पुर्वाञ्चल विरुद्ध एपिएफबाट डेव्यु गरिन । पाँचै वटा संस्करणको प्रधानसेनापती कप एपिएफबाट खेलेकी उनी ३ वटामा सर्वोत्कृष्ट गोलरक्षक चुनिइन । १९ फ्रेव्रुअरी २०१८ मा हङकङको राष्ट्रिय टोलीसंगको मैत्रीपुर्ण खेलमा ३–१ ले एपिएफले जित्दा समेत उनी मुख्य खेलाडीको रुपमा थिइन । एन्जिला २०७२ फागनुबाट शसस्त्र प्रहरीको जवान पदमा कार्यरत छिन ।
राष्ट्रिय टिममा आगमन
एन्जिला सन २०१४ मा श्रीलंकामा सम्पन्न भएको एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तराष्ट्रिय प्रतियोगितामा डेव्यु गरेकी थिइन । सन २०१४ बाटै राष्ट्रिय टिममा परेकी उनी २ बर्ष बेञ्चमा नै सिमित भइन । सिनियर टिमबाट डेव्यु म्याचको लागी सन २०१६ को साग नै कुर्नप¥यो । सेमीफाइनल खेलमा नेपालकी नियमित गोलरक्षक लिला लाम्गादेको स्थानमा गोलपोष्ट सम्हाल्दै सिनियर टिमबाट डेव्यु गरिन । सो प्रतियोगितामा नेपाल फाइनल खेलमा भारतसंग पराजित बन्दै रजत पदक प्राप्त गरेको थियो । त्यसपछि नेपालले आयोजना गरेको मैत्रीपुर्ण खेलमा मलेसिया विरुद्ध गोल पोष्ट सम्हाल्ने अवसर पाइन । २६ डिसेम्बर सन २०१६ देखी ४ जनवरी २०१७ सम्म भएको साफ वुमन च्याम्पियनसिपमा माल्दिभ्स बाहेकका सवै खेलमा नेपाली गोलपोष्ट सम्हालिन । सो प्रतियोगितामा नेपाल सेमीफाइनलमा आयोजक भारतसंग ३–१ ले पराजित हुँदै बाहिरिएको थियो । त्यसयता सन २०१७ मा मलेसिया विरुद्धको २ वटै मैत्रीपुर्ण खेलमा गोल पोष्ट सम्हाल्ने अवसर पाइन ।
महिला र पुरुषलाई समान सुविधा होस
अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउँछ । पुरुष टोलीका खेलाडीले मासिक १५ हजार पाउँछन् । महिला टोलीका खेलाडीले भने मासिक ७ हजार मात्र पाउँछन् । एन्फाको यही ब्यबहार एन्जिलालाई मन परेको छैन । पुरुष र महिलालाई सम्मानजनक सुविधा हुनुपर्ने उनको तर्क छ ।
तलवमात्र होइन अन्य सुविधामा महिला खेलाडीलाई बिभेद छ । उनी भन्छिन, ‘पुरुषको विभिन्न प्रतियोगिता आयोजना गरिन्छ र टोलीलाई व्यस्त बनाइन्छ । तर हामीले एउटा खेल खेल्न बर्षौं कुर्नुपर्छ । धन्न आर्मीले बर्षैपिछे प्रधानसेनापती कप आयोजना गर्छ नत्र भने त एउटै प्रतियोगिता नखेली बर्ष वित्ने रहेछ ।’
‘खेलाडीको स्तर बढ्ने भनेको निरन्तरको म्याच एक्स्पोजरले हो । तर महिला टोलीलाई घरेलु या अन्तर्रािष्ट्रय दुवैतर्फ प्रतियोगिता सीमितमात्र छन् । देशैभरी २ दर्जन हाराहारी पुरुष टिम सहभागी गोल्डकपहरु आयोजना हुन्छन, तर तपाईले सुन्नुभएको छ महिलाको प्रतियोगिता ? फरक यहीँनेर छ ।’
सागमा गोल्डमेडल जित्दा नवयुग श्रेष्ठलाई गृह जिल्लामा सम्मान गरिदा सिल्भर मेडल जित्ने एन्जिलाको चर्चा कतै सुुनिएन । उनी भन्छिन ‘ सागमा गोल्ड मेडल जित्दा नवयुग दाईलाई इलाममा अविर जात्रा गरेर नगर घुमाइयो तर मलाई जिल्लाबाट एक कल फोन समेत गरेनन् । आखिरीमा गोल्ड होस या सिल्भर मेडल । खेल त प्रतिष्ठाको लागी खेल्ने हो नी । सिल्भर भए पनि देशका लागी मेडल त मैले पनि पाएको थिए नी ।’
साफ च्याम्पियनसीप जिताउने धोको
५ फिट ३ इन्च उचाइ भएकी एन्जिलाले राष्ट्रिय टोलीबाट डेव्यु गरेको २ बर्ष मात्र हुँदैछ । २१ बर्षिया एन्जिलाको राष्ट्रिय टोलीबाट खेल्ने ठूलो लक्ष्य थियो । त्यो पूरा भइसकेको छ । अब उनको लक्ष्य नेपालको महिला टोलीलाई साफ च्याम्पियनसीप जिताउने हो । एन्जिला भन्छिन् ‘ मेरो लक्ष्य भनेको नेपाली गोलपोष्ट सम्हालेर साफ र साग गेममा नेपाललाई विजेता बनाउने हो । उपाधीमा भारतको एकाधिकार तोडने हो ।’
सिद्धार्थ कलेज बाफल काठमाण्डौमा व्यवस्थापन संकायमा स्नातक प्रथम बर्ष अध्ययनरत उनी फुटबल खेलबाट भविष्य बनाउन चाहन्छिन । फुटबलमा निरन्तर सफलतासंगै एन्जिला भन्छिन ‘ एपिएफमा मलाई भित्र्याउने प्रेम सर मेरो लागी गडफादर हो । उहाँ नभएको भए सायद म फुटबलमा हुन्न थिए होला । इलामबाट मेरो दिदि भिनाजु र दर्शन गुरुले आजको यो स्थानसम्म पु¥याउनुभयो ।’ मन पर्ने नम्बर भएकाले नेपाली राष्ट्रिय टिमको जर्सी नं १६ उनले लगाउने गरेकी छिन ।



















































