युद्धबहादुर बोहोरा
इलाम : नागरिक सम्मान कार्यक्रम अन्तर्गत इलाम फाकफोकथुम-१ का वृद्धवृद्धालाई सम्मान गरिएको छ।
जेष्ठ महिला जसरानी लिम्बुको अध्यक्षता र वडा न.-१ का अध्यक्ष टेकवीर नेम्वाङको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको थियो। सम्मान हुनेहरुमा २५ पुरुष र १५ महिला गरि जम्मा ४० जना रहेका थिए।
सबैभन्दा जेष्ठ ९१ बर्षिय जसरानी लिम्बु र डम्बर कुमारी बोहोरा लगायत अन्य ८० बर्ष उमेर माथिका वृद्धवृद्धा थिए। कार्यक्रममा प्रमुख अतिथिबाट वृद्धवृद्धालाई हर्लिक्स,मह,छाता र दोसल्ला सहित सम्मान गर्दै नयाँ संरचना पछिको पहिलो जेष्ठ नागरिक सम्मान कार्यक्रम भएको र आगामी आर्थिक बर्षमा अझै उत्कृष्ट कार्यक्रम ल्याइने बताए। त्यस्तै, जेष्ठ नागरिकहरु जिउँदो इतिहास साथै देउता समान हुन् उनीलाई संरक्षण र सहयोग गर्नु सबैको दायित्व रहेको उनको भनाइ छ। यस अवसरमा वृद्धवृद्धाहरुले श्लोक,सङ्गिनी नाच,चुडकिला, गीत साथ आफुले जानेको विविध कला प्रदर्शनी गरि उपस्थित सबैलाई मनोरञ्जन दिलाए।
गत आर्थिक बर्षमा फाकफोकथुम-१,साविक फाकफोक-४,खाम्बाङ्ग निवासी एकल जेष्ठ महिला लिलावती भट्टराईको चार महिनाको जेष्ठ भत्तामा हिनमिना भएको उजुरी परेको जानकारी गराउँदै गैर जिम्मेवारी कार्यको छानबिन गरिने र यस्तो कोही कसैबाट हुन नदिने प्रतिबद्धता जनाए। असक्त जेष्ठहरुको अनुपस्थितमा परिवारका प्रतिनिधिले सम्मान हस्तान्तरण गरिको वडा सचिव कुमार राइले बताए।
वडा सदस्य बालकृष्ण भट्टराई र बुद्धिजीवी बिनोद कुमार बोहोराले शुभकामना मन्तव्य राखे। कार्यक्रम वडा सचिव राइले संचालन गरेका थिए।

















































