काठमाडौँ : तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व पशुराज्यमन्त्री (क्याबिनेटस्तर) श्रीप्रसाद जबेगुले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य छनौटका क्रममा तत्कालीन माओवादी नेतृत्वले ध्यान नपुर्याएको भन्दै असन्तुष्टि पोखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्ट पोख्दै जबेगुले आफूमाथि आफ्नो जीवनकै सबैभन्दा अपमान र अन्याय भएको उल्लेख गरेका छन् । तत्कालीन जनयुद्धको क्रममा आफूले पार्टीमा गरेको मूल्यको अहिले पार्टी नेतृत्वले अवमूल्यन गरेको उनको भनाई छ ।
उनले लेखेका छन्, ‘पूर्व ने.क.पा. माओवादीबाट फेरि पनि एकपटक भक्तराज कन्दवाँको इतिहास पुनरावृति भएको छ । राजनीतिमा वरियताक्रमले महत्वपूर्ण अर्थ बोक्दछ, ता की, त्यो आफैमा इतिहास पनि हो । सुदुरपूर्वको सन्दर्भमा संकटकालकै बेला त्यो वरिष्ठताले चुच्चेटोपी पार्टीले नै मलाई लगाइदियो । मैले सम्झेँ जुनदिनसम्म पार्टी नीति, विधान र अनुसासनको उलंघन गर्दिन त्यो दिनसम्म मसँग भएको चुच्चेटोपीले काम गर्नेछ । तर विडम्वना पार्टी एकताको यो महान अवसरमा मलाई दिइएको चुच्चेटोपीलाई धोति बनाउने काम भएको छ । यसरी जिम्मेवारविहिन बनाएर जिन्दगीकै सर्वाधिक अपमान र अन्याय गर्दै विश्रामको अवसर दिएकोमा पूर्व नेकपा माओवादी पार्टीलाई धन्यवाद ।’
आफ्नो स्टाटसको अन्तिममा विश्रामको अवसर नेतृत्वले दिएको लेखेका जबेगुले पार्टीबाट बिदा लिने संकेत समेत गरेका छन् । पाँचथरका चर्चित नेता जबेगु प्रचण्ड प्रधानमन्त्री हुँदा मन्त्री बनेका हुन् ।






















































