याक्थुङ युवा मञ्चको अध्यक्षमा भूपेन्द्र खुदाङ निर्वाचित (घोषणापत्र सहित)

नयाँ बुलन्द

इलाम : इलाममा जेठ ७ गते सम्पन्न याक्थुङ युवा मञ्चको प्रथम महाधिवेशनबाट भूपेन्द्र खुदाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्ला विकास समिति इलामको सभाहलमा सम्पन्न महाधिवेशनले १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा प्रज्ञा इजम, मानधोज इस्वो, कमल हाङसरुम्बा, महेश्वर हुक्पा चोङबाङ, महासचिव शुसन हुक्पा चोङबाङ, सचिवहरु मोहन मादेन, तुल्सी तिगेला, मणि विक्रम योङहाङ र कोषाध्यक्षमा शान्ता योङहाङ निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा राजेन्द्र इधिङगो(झापा), रमेश लिम्बू (मोरङ), गणेश तुम्रोक(पान्थर), असोक फागो चोङबाङ(ताप्लेजुङ), शान्ता तुम्बाहाम्फे(इलाम), पोषण आङबुङ(तेह्रथुम) निर्वाचित भएका छन् ।

२५ सदस्यीय रहने केन्द्रीय कार्य समितिमा, प्रत्येक जिल्लाले पाउने केन्द्रीय सदस्यको बाँकी सदस्यहरु र १ महिला सचिव साथै मनोनित कोटा आगामी केन्द्रीय कार्य समितिको पूर्ण बैठकले पूरा गर्ने जानकारी दिएको छ ।

यो लिम्बू युवाहरुको सामाजिक संस्थाको रुपमा स्थापित सङ्गठनको इलाममा सम्पन्न प्रथम महाधिवेशनले नयाँ नेतृत्व सँगै ११ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

उद्घाटन सत्रमा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष याम प्रसाद योङहाङले युवाहरु भविष्यको हिस्सेदारी र वर्तमानको साझेदारी भएकोले चुम्लुङले युवाहरुसँगै सहकार्य गर्दै काम गर्ने बताएका छन् ।

उद्घाटन सत्रमा कियाचु लगायत लिम्बु जन्य सङ्घ संस्था, विभिन्न जातीय युवा संस्थको प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा केलाङ (च्याब्रुङ नाच) र यालाङ (धान नाच) पनि नाचिएको थियो ।

याक्थुङ युवा मञ्च (प्रथम महाधिवेशन)

२०७५ जेठ ७ र ८ इलाम, लिम्बुवान

घोषणा पत्र

१‍. याक्थुङ युवा मञ्च समुदायका युवाहरुलाई सङ्गठित र सक्रियताका साथ एकताबद्ध भएर, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा क्षमतावान बन्न प्रेरित गर्ने कार्यहरु गर्ने यो महाधिवेशन घोषणा गर्दछ ।

२. देशको संविधान अन्तर्गत ऐन, नियममा नै युवा सशक्तिकरणका कार्यक्रममा समानुपातिक, सहभागीतामुलक व्यवस्था हुनु पर्ने जोडदार माग गर्दछौँ ।

३. राज्य व्यवस्थाका अङ्गहरु (निजामति कर्मचारी, सेना, प्रहरी)मा हाम्रो अधिक्तम उपस्थितिका लागि समुदायको सचेत, सजक र सक्रियताका लागि पहल गरिने यो महाधिवेशन घोषणा गर्दछ ।

४. दक्ष जनशक्ति, समातामुलक समाज, कानुनी राज्य, विधिको शासन, सकरात्मक विभेद, स्थापित विचारहरुसँग समान विचार राख्ने छौँ ।

५. नेपालको राज्य संरचनामा पुनः सिमाङ्कन तथा नामङ्कन गरी अरुणपूर्व ९ जिल्लालाई ऐतिहासिक पहिचानको आधारमा स्वयत्ततासहितको लिम्बुवान राज्य हुनुपर्नेमा जोडदार माग गर्दछौँ ।

६. याक्थुङ युवाहरु मौलिक भाषा, लिपि, संस्कृति, कला, विज्ञान, राजनीति, शिक्षा, साहित्य, धर्म आदिमा विशेषज्ञताका साथ सुयोग्य हुनुपर्ने र राज्यमा त्यस्तो नीति स्थापित हुनुपर्नेमा महाधिवेशन ठहर गर्दछ ।

७. युएनडिप घोषणापत्र र आदिवासी अधिकार सम्बन्धि महासन्धी आइ.एल.ओ. १६९ कार्यान्वयनको लागि सरकारको ध्यानाकर्षण गर्दछौँ ।

८. प्रकृति, जीवन, चिन्तन गतिशिल छन्, तसर्थ प्राणी र मानव जातिको उन्नतीका लागि दुनियासँग जानकार र एकताबद्ध हुनु पर्नेमा महाधिवेशन ठहर छ ।

९. मानव सभ्यताका प्रत्येक आयामहरुलाई जीवन्त राख्नुपर्छ । लिम्बुवान सभ्यता यसको अभिन्न अङ्ग हो भन्ने यो महाधिवेशन ठहर गर्दछ र लिम्बुवानको सभ्यता, पहिचान जोगाउन राज्यसँग जोडदार माग गर्दछ ।

१०. आदिवासी लिम्बूहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले पारित गरेका समाजको लागि सकरात्मक नीति तथा कार्यक्रमहरुमा याक्थुङ युवा मञ्च समर्थन गर्ने घोषणा गर्दछ । तर नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सवालमा बाध्यकारी व्यवस्था अपनाए र नीति तथा कार्यक्रमहरुले समाज विभाजित भएमा त्यस्तो नीति तथा कार्यक्रहरुमा समर्थन जनाइन्ने छैन ।

११. विचार, नीति, तथा कार्यक्रमहरु मिल्ने लिम्बूजन्य सङ्घ संस्थाहरुसँग समन्वय, सहकार्य गर्दै जाने घोषणा गर्दछौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार