इलाममा प्याराग्लाइडिङको सम्भावना खोजिदैं

सुजता सुनुवार

इलाम : पर्यटनको प्रचुर सम्भावना रहेको इलाममा प्याराग्लाइडिङको सम्भावना खोज्न थालिएको छ । इलाममा जन्मिएर २५ वर्षसम्म हङकङमा बिताएर हाल पोखरा बस्दै आएकी सुमित्रा राईको पहलमा प्याराग्लाइडिङका सम्भावना खोज्न थालिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरी पहल गरिने राईले बताईन् ।

शनिबार सदरमुकाममा प्याराग्लाइडिङको सम्भाव्यता सम्बन्धी छलफल समेत भएको छ । जिल्लाका जनप्रतिनिधि, पर्यटन व्यवसायी, होटल व्यवसायी तथा सञ्चारकर्मीहरुको उपस्थितीमा प्याराग्लाइडिङको सम्भाव्यता र पहल को बारेमा छलफल भएको हो ।

इलाम भौगोलिक र मौसमी हावापानीका आधारमा पनि प्याराग्लाइडिङका लागि सम्भावना बोकेको जिल्ला भएकोले प्याराग्लाईडिङको सम्भाव्यता र पहल विषयक अन्तरक्रियात्मक गरिएको जनाईएको छ ।

८ देखि ३६ डिग्री सेल्सियस तापक्रमसम्मका स्थानमा प्याराग्लाईडिङको मज्जा लिन सकिन्छ । यसका लागि हावाको वहाव तेज चाहिन्छ । यो मौसमी वातावरण इलाममा रहेकाले समेत प्याराग्लाईडिङको कम्पनी खोलेर सुचारु गर्न सकिने प्याराग्लाईडिङ सम्भावना अध्ययनका लागि आएकी राईले बताईन् । सम्भावना अध्ययनका लागि राईसँगै प्याराग्लाईडिङ पाइलट विवेक शम्शेर राणा र विनोद लावती समेत आएका छन् ।

इलाममा ऐतिहासिक पुरातात्विक महत्व बोकेका स्थानदेखि विभिन्न रमणीय स्थान समेत प्रशस्त छन् । सम्भावना अध्ययनपछि पहल गरेर इलाममा प्याग्लाइडिङ कम्पनी खोल्ने र स्थानीय क्षेत्रमा नै प्याराग्लाईडिङ पाइलट उत्पादनमा जोड दिने सम्बन्धित निकायले जोड दिएका छन् ।

इलामका लागि प्याराग्लाईडिङ नयाँ कुरा भएपनि सम्भावना देख्दा सबैसँग सहकार्य गरी अघि बढ्न तयार रहेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले प्रतिवद्धता जनाए । ‘जिम्मेवारी दिनुभयो भने नेतृत्व गरेर समेत अगाडि बढ्न तयार छु’ प्रसुख बस्नेतले भने, ‘प्याराग्लाईडिङ सञ्चालनका लागि स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म पहल गर्नेछु ।’ सम्पूर्ण इलामबासी एक भएर अघि बढ्न सुझाउँदै प्रमुख बस्नेतले जागरुक हुन समेत आग्रह गरे ।

इलाममा पर्यटकिय क्षेत्र प्रसस्त छन् । यी क्षेत्रलाई प्याराग्लाईडिङका माध्यमबाट नियाल्न पाउँदा स्थानियलाई समेत खुशी पार्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार