सुजता सुनुवार
इलाम : इलाममा निर्माणाधिन चिया वस्तु विकास कार्यशाला भवनको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको इलाम नगरपालिका २ साखेजुङ्गमा निर्माणाधिन भवनको काम ९० प्रतिशत पुरा भईसकेको भगवती निर्माण सेवाले जनाएको छ
घरेलु तथा साना उद्योग विकास समिति इलामको लगानीमा भवन निर्माण भएको हो । करिब ८० लाखको लगानीमा चिया प्रशोधन गर्ने र उद्योगीलाई तालिम दिने उद्देश्यले घरेलुले आफ्नै स्वामित्वको भवन निर्माण गरेको बताइएको छ ।
भवन निर्माण सम्पन्न पश्चात चिया उद्योगीलाई घर भाडामा लिएर हाते चिया प्रशोधन तालिम दिइरहनु पर्ने झन्झटबाट मुक्त हुने घरेलु तथा साना उद्योग विकास समिति मूख्य शाखा कार्यलय इलामका लेखा अधिकृत नारायण खत्रीले बताए ।
उनले भने, ‘२०६८ सालबाट प्रतिवर्ष ४० जनालाई भाडाको घरमा हाते चिया प्रशोधन तालिम दिइदै आइएको छ । मासिक चार हजार तिर्दै मोतीराम दहालको घरमा प्रतिवर्ष २० जनालाई १० दिने तालिम घरेलुले प्रदान गर्दै आएको छ । यहाँ २० लाख भन्दा बढीको सामान जडान गरिएको छ ।’
पूर्वाञ्चलका १६ जिल्लाका सम्पूर्ण चिया उद्यमीलाई इलाममा नै तालिम प्रदान गरिदै आएको बताइएको छ । तालिममा प्रति जिल्ला २ जनाको सहभागीता हुने समेत अधिकृत खत्रीको भनाई छ । तालिममा सात प्रकारका हाते चिया बनाउन सिकाइदै आएको घरेलु तथा साना उद्योग मूख्य शाखा कार्यलय इलामले जानकारी दिएको छ ।
भगवति निर्माण सेवाले विं सं. २०७२ सालबाट चिया वस्तु विकास कार्यशाला भवन बनाउने जिम्मा लिएको हो ।