नयाँ बुलन्द
इलाम : विद्युतको मिटर किनेको तीन महिना बित्दा समेत जडान नहुँदा इलामका उपभोक्ता मारमा परेका छन् । मिटर जडान नहुँदा जिल्लाको माइनगरपालिका १ दानाबारीका स्थानिय बासिन्दा उज्यालोबाट वञ्चित भएका हुन् ।
मिटर जडान गरेर वैधानिक ढङ्गले बक्ती बाल्न खोज्दा समेत विद्युत प्राधिकरणले बाल्न नदिएको स्थानिय सुवर्ण राईको गुनासो छ । राईले भने, ‘माइनगरपालिका १ का ७० घरपरिवार बक्ति बाल्नबाट वञ्चित भएका छौँ ।’
मिटर जडान नहँुदा नगरपालिका १ स्थित खमारे, खर्बनी र टिम्बुरे टोलका गरी ७० घरपरिवार उज्यालोबाट वञ्चित भएका हुन् । विद्युत प्राधिकरणका कर्मचारीलाई पटकपटक मिटर जडान गरी माग्दा विद्युत चुवावट हुन्छ भन्दै मिटर जडान गर्न नमानेको बताइएको छ ।
राईका अनुसार, माइनगरपालिका १ का केही व्यक्तिले मिटर नै जडान नगरी सिधै तारबाट जोडेर वत्ती बाल्दा समेत प्राधिकरण मौन बस्छ । वैधानिक ढङ्गले बक्ती बाल्छौँ मिटर जडान गरी पाऊँ भन्दा अनेकौ वहाना बनाउदै मिटर जडानमा ढिलाई गर्छ । गलत कामलाई बढावा दिदै सही कार्य गर्नेलाई प्राधिकरणले वेवास्ता गरेको राईको आरोप छ ।
‘मिटर किनेको तीन महिना बित्यो, नगरपालिका प्रमुखसम्म पुगियो, सबै गाउँबासीलाई मिटर जडान गर्न मञ्जुर गराउनु अनि जडान हुन्छ भनेर फर्काए’ राईले भने, ‘बत्ति बाल्न भन्दै घरको धनिपुर्जा राखेर दुई हजार दुई सय लगाएर मिटर किने, जडान नगरिदिएपछि मिटर थन्काएर बस्नु परेको राईको छ ।’
यता माइनगरपालिका १ का कार्यभार सम्हाल्दै आएका नेपाल विद्युत प्राधिकरण प्युज सेवा दानाबारीका इन्चार्ज गणेश विश्वकर्माले भने विद्युत चोरी हुन सक्छ भनेर मिटर जडान नगरिएको स्वीकार गरे ।
एकै टोलमा मात्र ३० घरधुरी छन् । ती मध्ये एउटा घरमा मात्र मिटर जडान गर्दा अन्यले मिटर बिनै बत्ति बालेर चुहावट गर्छन् भनेर मिटर जडान नगरिएको जनाईएको छ । प्रतिघरपरिवारले मिटर जडान गर्नु पर्ने भएकाले सो टोलमा अन्य मिटर थप गर्ने पहल भईरहेको इन्चार्ज विश्वकर्माले जानकारी दिए । उनले १२ जेठसम्ममा इलाम नगरपालिका कार्यलयबाट आफैले मिटर बोकेर गाउँसम्म ल्याई जसरी भएपनि मिटर जडान गरिने बताए । सो टोलका बासिन्दालाई अध्यारो मुक्त बनाउन निरन्तर पहलमा जुटीरहेको बताए ।