इलामको माङसेबुङ गाउँपालिकामा सिटिजन्स् बैंक

नयाँ बुलन्द

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा सिटिजन्स् बैंक इन्टरनेशलन लिमिटेडको शाखा स्थापना गरिएको छ । सर्वसाधारणलाई घर आगनमै बित्तीय सेवा प्रदान गर्न ६९ औं शाखाको रुपमा सिटिजन्सले ३१ वैशाखदेखि माङसेबुङमा सेवा प्रारम्भ गरेको हो ।

गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै वित्तीय पहुँच र साक्षरता अभिवृद्धिका लागि ‘एक घर एक खाता’ होस् भन्‍ने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा प्रबन्धक हरीबहादुर खत्रीले बताए । कृषि, उर्जा, पर्यटन, लघुउद्यम लगायतलाई विशेष प्राथमिकतामा राखी बैंकले काम गर्ने प्रबन्धक खत्रीले बताए ।

स्थानीय तह निर्माणपश्चात पहिलो पटक गाउँपालिकाको केन्द्रमा बैंक भित्रिएपछि स्थानीय निकै हर्षित भएका छन् । स्थानीय आफ्नो बैंक खाता खोल्न उत्साह र चासोका साथ सहभागि हुन थालेका छन् ।

राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यताप्राप्त बैंकले एक आर्थिक वर्षमा गाउँपालिकाको करीब २२ करोड बढिको कारोबार गर्नेछ । त्यसैगरी, बैंकले बचत, चल्ती र मुद्धतीका खाता तथा एटिएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, सीआश्वा सेवा, हितग्राही खाता लगायतको सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने जनाईएको छ ।

जिल्लाकै दुर्गम क्षेत्रमा शाखा विस्तार गरेको सिटिजन्स बैंकले सुरक्षा नै प्रमुख चुनौती रहेको जनाएको छ । त्यसैगरी भौगोलिक अवस्थिति, यातायातको असहजता, सूचना प्रविधिको समेत समस्या रहेको जनाएको छ ।

सुरक्षा व्यवस्थाका लागि गाउँपालिकासमक्ष पहल गरिदिन अनुरोध गरेको प्रबन्धक खत्रीले बताए । यता गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगोले सुरक्षाका लागि आवश्यक पहल भइरहेको बताए । ‘प्रहरी चौकीको व्यवस्था गरिदिन अघिल्लो प्रमुख जिल्ला अधिकारीकै पालिमा गाउँपालिकाको तर्फबाट लिखित रुपमा नै माग गरिएको छ’ अध्यक्ष इधिङगोले नयाँ बुलन्दसँग भने ‘प्रमुख जिल्ला अधिकारी परिवर्तन भएपछि नयाँ प्रजिअसँग पनि कुराकानी भयो । सुरक्षा समितिको बैठकमा छलफल गर्ने आश्वासन प्राप्त भएको छ ।’

१० स्थानीय तहमध्ये भौगोलिक अवस्थिति र सुरक्षा स्थिती मजबुद नभएको भन्दै बैंकहरुले शाखा विस्तारमा अनाकानी गर्दै आएका थिए । ग्रामीण क्षेत्रका स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबारमा समस्या हुँदै आएको छ । बैंक स्थापना नभएको स्थानीय तहका स्थानीयले सास्ती व्यहोर्नुपरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार