नयाँ बुलन्द
इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ३ लाई पूर्णखोप युक्त वडा बनाउने उद्देश्यले वडाध्यक्ष राजन पौडेलको अध्यक्षतामा ११ सदस्यीय वडास्तरीय खोप समन्वय समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा सूर्य गिरी, चनमाया मगर, अनिरुद्र लामिछाने, डिकबहादुर पाण्डे, रनकुमारी थेगिम, रमिता थापा, विमला आचार्य, सोममाया राई, समिर अधिकारी र मुकेशकुमार राम रहेका छन् । वडामा रहेका बालबालिकालाई सबैखाले खोप लगाएर खोप पाएको सुनिश्चित गर्दै पूर्ण खोप बनाउने उद्देश्यले समन्वय समिति गठन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सञ्जयकुमार शाहले बताए ।
पूर्णखोपको दिगोपनाका लागि साझेदारसँग अन्तरक्रिया तथा योजना निर्माण कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बालबच्चाको निम्ति सात वटा खोप अनिवार्य हुने भएकाले पूर्णखोप घोषणाका लागि सबैको सहयोग आवश्यक रहेको बताए । स्वास्थ्य भनेको जीवनको महत्वपूर्ण क्षेत्र भएकाले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्न गाउँपालिकाले कुनै कसुर बाँकी नराख्ने विचार व्यक्त गरे । उनले कोही पनि बिरामीले स्वास्थ्य कार्यालयबाट औषधी नपाई रित्तो हात फर्कनु नपरोस भन्नका लागि स्वास्थ्यका लागि पर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।
वडाध्यक्ष राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, वडा सदस्यहरु, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरुलगायतको उपस्थिति रहेको थियो ।