झापा : झापाको शिवसताक्षी नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा किरात धर्मावलम्बीहरुले माङहिम बनाउने भएका छन् ।
किरात धर्मावलम्बीहरुले आफनो धर्म,संस्कार अनुसार विभिन्न धार्मिक अनुष्ठान गर्नका लागि त्यहाँ मन्दिर बनाउन लागेका हुन् । मन्दिर बनाउन सामाजिक अगुवा सन्त फेवादेनको अध्यक्षतामा किरात चोत्लुङ माङहिम गठन गरिएको छ । समितिले आइतबार प्रस्तावित माङहिम स्थलमा धार्मिक अनुष्ठान समेत गरिएको अध्यक्ष फेवादेनले बताए । त्यस अवसरमा किराती पूजारीहरुले पूजापाठ समेत गरेका थिए ।
भेलामा सताक्षीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बा, माङहिमका सल्लाहकार संयोजक शिवप्रसाद योङयासहित शिवसताक्षी नगर क्षेत्रमा बसोबास गरिआएका किरात धर्मावलम्बीहरुले उल्लेखीय उपस्थिति रहेको थियो ।
समितिका कोषाध्यक्ष दिपककुमार मेन्याङवोका अनुसार मन्दिर निर्माणका लागि भेलाले रेखाङकन गरिएको छ । रेखाङकन गरिएका क्षेत्रमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको बाहुलीबाट छिट्टै माङहिम शिलान्यास गरि काम शुरु गरिने कोषाध्यक्ष मेन्याङवोले बताए । उनले धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा माङहिम निर्माण गरिएपछि त्यस क्षेत्रमा आउने दर्शनार्थीहरुले पूजाअर्चना गर्नुका साथै अन्य बैद्धिक अनुष्ठानहरु समेत गर्नमा सुविधा पुग्ने बताए ।