पिकअप आगजनीको आशंकामा ४ पक्राउ

नयाँ बुलन्द

इलाम : पिकअप आगजनीमा संलग्नताको आशंकामा जिल्ला प्रहरी कार्यालय इलामले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले इलाम नगरपालिका ३ जौवारीका २५ वर्षीय काजीमान सुनुवार, ३७ वर्षीय चन्द्र थापा र ३२ वर्षीय समीर भनिने सन्जिवकुमार राई तथा सूर्योदय नगरपालिका १२ आइतबारेका ३४ वर्षीय लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

उनीहरुलाई गत शनिबार मेची राजमार्गको इलाम पुवाखोला छेउमा पिकअप आगजनी घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नेपाल कम्युनिष्ट पार्टीको लेटरप्याड, चन्दा रसिद, ठेकेदारहरुको नामावलीसहतिको नोटबुक, माक्र्सवाद, लेनिनवाद र माओवाद सम्बन्धी विभिन्न दस्तावेज समेत नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक विपिनकुमार कर्माचार्यले जानकारी दिए ।

शनिबार विहान सवा ३ बजे इलामबाट प्याज बोकेर पाँचथरतर्फ जाँदै गरेको को १ च ८७१५ नम्बरको पिकअप इलाम नगरपालिका–४, पुवाखोला नजिकै अज्ञात समूहले आगजनी गरेको थियो ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तारमा परेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दै नेपाल बन्दको आह्वान गरेको थियो ।

पिकअप आगजनीमा ५/७ जनाको संलग्नता रहेको बताइएको छ । अन्यको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार