नयाँ बुलन्द
इलाम : अनेरास्ववियु इलामले सदरमुकाममा “माक्र्स स्कुल” स्थापना गरेको छ । महान् दार्शनिक कार्ल माक्र्सको जन्म जयन्तीको २०० वर्षको अवसरमा शनिबार इलाममा “माक्र्स स्कुल” उद्घाट्न गरिएको हो ।
अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुलाई अनौपचारिक पाठशालाको रुपमा यसको उद्घाट्न गरिएको अनेरास्ववियु जिल्ला कमिटीले जनाएको छ ।
विद्यार्थीहरुलाई माक्र्सवाद र यससँग सम्बन्धित विषय वस्तुको अध्ययन तथा जानकारी गराउने उदेश्यले प्रत्येक महिनाको अन्तिम शुक्रबार दिउँसो साढे ३ बजे देखि ५ बजेसम्म कक्षा सञ्चालन गर्ने जनाइएको छ ।
उदघाट्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष भक्त केसी, सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, सचिवालय सदस्य एवम वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेली, जिल्ला सदस्य शिखरनाथ सापकोटाले शुभकामना मन्तव्य राख्दै निरन्तरता दिन र खोजी–खोजी दर्शनका विषयमा अध्ययन गर्न सुझाव दिए ।
पहिलो दिनको कक्षामा मानव समाज विकास र यसका चरणहरु साथै लेनिनवादी संगठनात्मक पद्धती/जनवादी केन्द्रियताको प्रयोगका बारेमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम विद्यार्थी इञ्चार्ज नवराज शंकरले उपस्थित विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए ।
कक्षामा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष इश्वरी तामाङ्ग, उपाध्यक्ष प्रबेश पराजुली, सचिव सुशिला रिसाल लगायत जिल्ला सचिवालय सदस्य, सदस्य र मातहतका कमिटीका २३ विद्यार्थीहरुको उपस्थित रहेको थियो ।