ज्ञानु केदेम
माङसेबुङ : झापाको दमकदेखि पाँचथरको रवि जोड्ने फाल्गुनन्द मार्ग कालोपत्रे हुने भएको छ । आगामी जेठ पहिलो सातादेखि कालोपत्रेको काम सुरु हुने सडक निर्माण उपभोक्ता समितिका उपाध्यक्ष विनोद नेम्बाङले जानकारी दिए ।
झापा र इलामको सिमानाबाट इलामतर्फ ६ किलोमिटर ड्रेन सहित डबल लेनको सडक कालोपत्रे हुने भएको हो । तत्काल इलामको मार्चेबुङसम्म ६ किलोमिटर कालोपत्रे बनाउन करिब ४० करोडको लागत स्टीमेट स्वीकृत भएको उपाध्यक्ष नेम्बाङले बताए ।
केहि समयअघि यही सडकमा पर्ने घर्ती दोभान र बाघमारा खोलामा १ नम्बर प्रदेशका अर्थ तथा योजना मन्त्री इन्द्र आङ्बोले पुलको शिलान्यास गर्दै फाल्गुनन्द मार्ग ३ वर्ष भित्रमा कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका थिए ।
झापाबाट पहाडी क्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई छोटो दूरीमा जोड्ने फाल्गुनन्द मार्गमा कालोपत्रे हुने भएको हो । यसरी फाल्गुनन्द मार्गमा कालोपत्रे बन्ने भएपछि इलाम र पाँचथरका पैदल यात्रा गर्न बाध्य रहेका दर्जनौं गाउँपालिकाका जनताहरुले राहत महसुस गर्ने भएका हुन् ।
कच्ची सडकमा डेढ दशक यता यातायात सञ्चालन हुँदै आएको फाल्गुनन्द मार्गमा नियमित सवारी चल्न सकेको छैन । गत हिउँदबाट एकोहोरो ट्रयाक खोलिएको भएपनि वर्षायाम लागेपछि यस वर्ष पनि यातायात अवरुद्ध हुने भएको छ । अहिले सडक निर्माण धमाधम भइरहेकोले रतुवा खोलाको किनार मै सवारी साधन गुड्न बाध्य छन् ।
डेढ वर्षे अवधिमा कालोपत्रे निर्माण गर्न लागिएकोले फाल्गुनन्द मार्गमा यस वर्ष पनि वर्षायाममा सवारी साधन नचल्ने भएको छ । निमार्ण कार्य नियमित भइरहने भएकोले सवारी साधन अवरुद्ध हुने नेम्बाङको भनाई छ ।






















































