राम योङहाङ
इलाम : उपाधिको दावेदार मानिएको सशस्त्र प्रहरीको एपिएफ क्लबलाई स्तब्ध पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको अन्तिम सेमिफाइनलमा एपिएफलाई २–० गोलको अन्तरले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो ।
थ्रीटारलाई उपाधिनजिक पुर्याउन नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्ती मगर र अफ्रीकन मुलका खेलाडि मार्टिनको गोल निर्णायक बन्यो । जितसँगै थ्रीस्टारले उपाधिका लागि सोमबार हुने फाइनलमा चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीसँगको भेट पक्का गरको छ ।
पहिलो हाफमा नै अग्रता लिएको थ्रीस्टारले दोश्रो हाफमा अग्रता दोब्बर बनाउँदै जित निश्चित गरेको थियो । सुरुवातदेखि नै दवदवा कायम गर्न सफल थ्रीस्टारले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । थ्रीस्टारका विमल घर्ती मगरले गोल गरी टिमलाई अग्रता दिलाए । दोश्रो हाफमा समेत थ्रीस्टारले आक्रमक रणनीति लियो । एपिएफलाई दवावमा राखेको थ्रीस्टारले ९० औं मिनेटमा पुनः गोल गर्यो । विमल घर्ती मगरको क्रस पासलाई सदुपयोग गर्दै अफ्रिकन मुलका खेलाडि मार्टिनले सोझै जाली चुमाए ।
यता एपिएफले पनि गोल गर्ने केहि अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । रञ्जन विष्ट, रुपबहादुर लामा, आदित्य चौधरी, युवराज खड्का लगायतले केही सुन्दर अवसर सिर्जना गरेका थिए । तर सदुपयोग गर्न नसक्दा एपिएफ उपाधि चुम्ने सपना चकनाचुर पार्दै घर फर्कन बाध्य बन्यो ।
खेलको म्यान अफ दी म्याच थ्रीस्टारका विमल घर्ती मगर घोषित भए । उनले नगद १० हजार र चाँदीको मेडल पाए ।क्वार्टरफाइनलमा थ्रीस्टारले विभागीय टिम नेपाल पुलिस क्लबलाई रोक्दै सेमिफाइनल प्रवेश गरेको थियो भने एफिएफले लगातार दुई पटकको उपाधि विजेता झापा ११ लाई घर फर्काएको थियो । थ्रीस्टार माईभ्याली गोल्डकपको पहिलो संस्करणको उपविजेता हो । नेपाली सेनाको त्रिभुवन आर्मीसँग टाइब्रेकरमा पराजित भएको थियो । एफिएफ पनि दोश्रो संस्करणको उपविजेता हो । एफिएफ झापा ११ सँग २–० ले पराजित भएको थियो ।
थ्रीस्टार र एपिएफको पछिल्लो दुई भेटमा एक÷एक खेलमा बाजी मारेको थियो । चितवनको विकास रनिङ शिल्डमा एपिएफले थ्रीस्टारलाई पराजित गर्दै उपाधि जितेको थियो । विराट गोल्डकपमा भने पहिलो चरणमै थ्रीस्टारसँग एपिएफले पराजय भोगेको थियो ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले सुरुदेखि नै आक्रामक खेल्ने राणनीति अनुसार नै खेलाडिले खेलेका कारण एपिएफमाथि जित हात पार्न सफल भएको प्रतिक्रिया दिए । यता एफिएफका प्रशिक्षक गणेश लावतीले भने रेफ्रीका कारण आफ्नो टिमले पराजय वेहोर्नुपरेको आरोप लगाए ।
माइभ्याली फुटबल क्लबको आयोजनामा ६ वैशाखदेखि सञ्चालित प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टिमको सहभागिता थियो । पूर्वी पहाडि क्षेत्रकै सर्वाधिक राशी मानिएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ठ खेलाडिले १५० सिसिको यामाहाको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।






















































