जेठबाट विमानस्थल २१ घण्टा सञ्चालन

काठमाडौं : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ पहिलो सातादेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ । अहिले दैनिक १८ घण्टा सञ्चालनमा आइरहेको विमानस्थललाई थप तीन घण्टा सञ्चालनमा ल्याउन लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकार गठन भएको सय दिनमा सम्पादन गरिने प्रमुख कार्यहरूको बुधबार प्रगति समीक्षा गर्दै ७ जेठबाट २१ घण्टा विमानस्थल सञ्चालन हुने जनाएको छ । एक सय दिन पुग्न अब एक महिना मात्र बाँकी छ । मन्त्रालयले सरकार गठन भएलगत्तै १ सय दिनमा गर्ने १ सय १० वटा काम सार्वजनिक गरेको थियो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र उडान सुरक्षित बनाउन विमानस्थलको उडान समायावधि लम्बाइएको बताए । एयर ट्राफिकिङका कारण जहाज आकाशमै ‘होल्ड’ हुने र विमान फर्कनुपर्ने बाध्यता अन्त्यका लागि विमानस्थल सञ्चालनको समय बढाइएको उनले जानकारी दिए । कार्यसमीक्षामा मन्त्री अधिकारीले त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानलाई स्थानान्तरण गर्न १४ दिनभित्र काभ्रेमा जग्गाको टुंगो लगाउन पनि मातहतका निकायलाई निर्देशन दिएका छन् । ठूला जहाजहरू आकाशमै होल्ड गर्नुपर्ने अवस्थाको अन्त्य गर्न २० प्रतिशत साना जहाज विस्थापित गर्न पनि उनले निर्देशन दिए ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पनि मन्त्रीको निर्देशनपछि २१ घण्टा उडान सञ्चालन गर्न चाहिने एटिसीलगायत जनशक्ति व्यवस्थापन भइसकेको जानकारी गराए । ‘यसअघि विमानस्थल साढे १८ घण्टाभन्दा बढी नियमित सञ्चालनमा कहिल्यै ल्याइएको थिएन,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘भूकम्प, टर्किस र मालिन्दो विमान दुर्घटनाका वेला बाध्यताले निश्चित समयका लागि २४सै घण्टा सञ्चालनमा ल्याइएको थियो, तर नियमित थिएन ।’ प्राधिकरणका अनुसार जहाज अवतरण तथा उडान भर्ने दुई वटा मात्रै प्रवेश बिन्दु भएको एक मात्र धावनमार्ग भएका कारण सञ्चार तथा उड्डयन उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले २४सै घण्टा सञ्चालन भने गर्न नसकिने जनाउँदै आएको छ ।

समीक्षामा मन्त्री अधिकारीले विशेष कारणबाहेक तोकिएकै समयमा उडान हुनुपर्ने, अग्रिम टिकट बुकिङको पहुँच सबैमा पुग्नुपर्ने बताए । यस्तै, राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य १ सय दिनभित्र ४० प्रतिशत सम्पन्न हुने भनिएकोमा हालसम्म ३७ प्रतिशत सकिएको जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार