एकराज दुलाल
“कुनै एक व्यक्तिको जन्म समयले सौर्यमण्डलको ग्रहको स्थित र उसको भविष्यको ज्ञान तथा उसको जीवनमा प्रभाव पार्दछ ।” ज्योतिष शास्त्र एउटा बृहद् ज्ञान हो ।
सामान्य भाषामा भन्दा ज्योतिष त्यो विद्या हो जसले आकाशका ग्रह,नक्षत्रको गति,परिणाम,दुरी आदिको निश्चय गर्दछ । ज्योतिषले कालको व्याख्या गर्दछ ।वर्तमान समयका घटना तथा भूत अनि भविष्यको ज्ञान यसले प्रदान गर्दछ । यो गणित शास्त्र पनि हो । जन्मसमयलाई गणितीय रुपमा हल गरेर तथ्याङ्क निर्धारण हुन्छ । निर्धारित तथ्याङ्कलाई आधार मानेर भविष्यको निर्णय पनि यसले गर्न सक्छ । यो वेदको एउटा अंग हो । व्याकरणमा ज्योतिष शब्द दीप्त दीप्त धातुबाट बनेको हो । यसको अर्थ अग्नि,प्रकाश र नक्षत्र हो । यदि ज्योतिष नहुनु हो भने मुहुर्त ,तिथि,नक्षत्र आदिको सम्भव हुँदैन ।
यसमा ग्रह विचार गरेर फलको निर्धारण गर्ने गरिन्छ । ग्रह भन्नाले सामान्य भाषामा सौर्यमण्डलमा रहेका पिण्डहरुलाई बुझाउँछ। विशेष गरेर ज्योतिषमा ७ प्रकारका ग्रहहरुलाई आधार मानिन्छ । सूर्य,मंगल,चंद्रमा,बृहस्पति,शनि,बुध,शुक्र । वैदिक तथा विभिन्न प्राचीन ऋषिमुनिहरुले ज्योतिषमा ७ वटा ग्रहहरुलाई मात्र प्राथमिकता दिएको पाइन्छ । थप दुई राहु र केतुलाई छाया ग्रह मानेका छन् । सूर्य,चन्द्रमा र पृथ्वी बीचको आपसी सम्बन्धबाट उत्पन्न छाया नै राहु र केतु हुन् । यिनै ९ ग्रहहरुको व्याख्या चक्रबाट भूत,भविष्य र वर्तमानको तय हुने गर्दछ ।
यी ९ वटै ग्रहका आ आफ्नै प्रकृति हुन्छन् र यिनिहरुले आफ्ना आफ्ना प्रकृति अनुसार फल गर्ने गर्दछन् । यिनीहरुको विस्तृत् अध्ययनबाट नै घटनाक्रमहरु निर्धारण हुने गर्दछन् ।