नयाँ बुलन्द
इलाम : सदरमुकाममा आयोजित तीन दिने इलाम महोत्सव सकिएको छ । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको दोश्रो शतवार्षिकीको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो ।
धार्मिक संस्थाहरुको ध्वनि र बाजागाजासहित उद्घाटन भएको महोत्सवमा झाँकी प्रदर्शन, गुम्बा, मन्दिर, चर्च, मस्जिद आदिमा पूजापाठ, विशिष्ट व्यक्तिलाई नागरिक अभिनन्दन, साहित्यिक, साँस्कृतिक, खेलकुदका कार्यक्रम साथै जिल्लामा उत्पादित वस्तुहरुको प्रदर्शन गरिएको थियो ।
महोत्सवमा ४५ वटा स्टलहरु राखिएका थिए । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, जातिय भेषभूषा, जातिय खानाका परिकार, महिला उद्यमी तथा हस्तकलाका विभिन्न सामाग्री, कृषिजन्य उत्पादित वस्तुहरु प्रदर्शनीमा राखिएका थिए ।
‘इलाम’ शीर्षक गीतको सार्वजनिकीकरण, ‘इलाम ः हाम्रो गौरव’ झल्कने आतिसबाजी, इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर र माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग इलाम नगरपालिकाले मेयर्स प्राइजको प्रवन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर समेत भयो ।
आदिवासी लिम्बू र लेप्चा जातिको पुरानो थातथलोका रुपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिने उद्देश्यले सञ्चालित महोत्सवको ५० हजार बढीले अवलोकन गरेको महोत्सव आयोजक उपसमितिका संयोजक नवराज शंकरले जानकारी दिए ।
सुगौलीको सन्धिपछि १८७५ मा इलामको सुर्योेदय नगरपालिकाको करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको अवसरमा महोत्सव आयोजना गरिएको थियो ।
अंग्रेज–नेपाल युद्धपछि २० फागुन १८७२ मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो ।
यसैबीच इलामको सुर्योदय नगरपालिका फिक्कलमा आयोजित चार दिने सडक महोत्सव समेत सम्पन्न भएको छ । होटल व्यवसायी संघ सुर्योदयको आयोजनामा मेची राजमार्ग अन्तरगत फिक्कल सडकमा महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय स्तरमा उत्पादित चिया, दुग्ध, अचारका परिकारहरुका ८० वटा स्टलहरु राखिएका छन् ।
महोत्सवमा नेपाल र भारतका एक लाख ५० हजार पर्यटकले अवलोकन गरेको आयोजक सुर्योदय होटल व्यवसायी संघका सचिव युवराज प्रधानले बताए ।