खलंगा स्थापनाको दोश्रो शतवार्षिकीमा इलाम महोत्सव सुरु (फोटो फिचरसहित)

नयाँ बुलन्द

इलाम : इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाममा तीन दिने इलाम महोत्सव सुरु भएको छ ।

‘इलाम : हाम्रो गौरव’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले गरे । महोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक विकास र समृद्धिको दिसातर्फ अगाढि बढेको बताएका थिए ।

महोत्सव द्घाटनको अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि धरान उपमहानगर प्रमुख तारा सुब्बा र इलाम नगर प्रमुख महेश सस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको थियो । त्यस्तै माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग इलनाम नगरपालिकाले मेयर्स प्राइजको प्रवन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर समेत भएको थियो ।

महोत्सवको उद्घाटनअघि इलामका नागरिक इतिहाविद् युद्धप्रसाद वैद्यलाई रथारोहणसहित विशिष्ठ नागरिकको रुपमा अभिनन्दन गरिएको छ । उनलाई सदरमुकामको ठूलो टुँडिखेलबाट सुरु भएको झाँकी र बाजागाजासहितको र्यालीले भानुपथ–नवीनचोक–चोकबजार–प्रकाशपथ–नारायणस्थानबाट पुनः प्रकाशपथ–शान्तिचोक–मालापथ–चोकबजार हुँदै अस्पताल मार्गबाट नवीनचोक–भानुपथ हुँदै ठूलो टुँडिखेलसम्म परिक्रममा गराइएको थियो । त्यस अवसरमा विभिन्न जातीय झाँकीसहितको र्याली समेत निकालिएको थियो ।

शुक्रबार साँझ नै इलाम आईपुगेका उपराष्टपति पुनले विहान सदरमुकास्थित माईस्थान रहेको नेपाली सेनाको निशान समेत अवलोकन गरेका थिए ।

महोत्सवको पहिलो दिन शनिबार साँझ सांस्कृतिक कार्यक्रम र ‘इलाम’ शीर्षक गीतको सार्वजनिकीकरण र ‘इलाम : हाम्रो गौरव’ झल्कने आतिसबाजीको कार्यक्रम रहेको छ ।

त्यस्तै दोश्रो दिन आइतबार धार्मिक स्थलहरुमा पाठपूजा, मन्त्रध्वनिलागायत धार्मिक कार्य, साहित्य सम्मेलन, धरान र इलामबीच मैत्रीपूर्ण महिला बास्केटबल खेल, जिल्लास्तरीय बास्केटबल प्रतियिोगिताको फाइनल, इलामको समृद्धिको सन्दर्भमा विचार गोष्ठी, इलामे अग्रजहरुको पुनर्मिलन र इलामे गायक कुवेर राईको एकल साँझ आयोजना गरिने इलाम नगरपालिकाले जनाएको छ ।

अन्तिम दिन सोमबार जिल्ला क्रिकेट संघ इलाम र दार्जिलिङ क्रिकेट टिमबीच मैत्रीपूर्ण क्रिकेट खेल, सांस्कृतिक कार्यक्रम र इलामका सांगीतिक ब्याण्डहरुको प्रस्तुतिसहित महोत्सवको समापन गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिको दोश्रो शतवार्षिकीको अवसरमा नयाँ वर्षमा महोतसव आयोजना गरेपनि अन्य विभिन्न कार्यक्रम सालैभरी आयोजना गर्ने नगरपालिकाले यसअघि नै निर्णय गरिसकेको छ ।

सुगौलीको सन्धिपछि १८७५ मा इलामको सुर्योेदय नगरपालिकाको करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको अवसरमा महोत्सव आयोजना गरिएको हो । आदिवासी लिम्बू र लेप्चा जातिको पुरानो थातथलोका रुपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिनेलगायत उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

अंग्रेज–नेपाल युद्धपछि २० फागुन १८७२ मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार