अदुवाको परिकार बनाउने तालिम सम्पन्न

नयाँ बुलन्द

इलाम : इलामको फाकफोकथुम गाउँपालिका–२ कोल्बोटेमा समुदायमा आधारित चार दिने अदुवाको अचार बनाउने तालिम सम्पन्न भएको छ ।

फाकफोकथुम गाउँपालिका–२ स्थित महिला सञ्जालद्वारा आयोजित उक्त तालिममा सोही वडाका ३० जना भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

तालिमलाई उषा निरौला र गाउँपालिकाका नासु प्रेमप्रसाद पाण्डेले सहजीकरण गरेका थिए । तालिम समापन अवसरमा गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईले स्थानीयस्तरमा खेर गईरहेको अदुवालाई प्रशोधन गरेर विभिन्न परिकार बनाएर विक्री गर्न सक्दा धेरै फाइदा हुने बताउँदै उद्यमशील बन्न महिलालाई आग्रह गरिन् ।

महिलालाई उद्यमशील तथा उद्योगी बन्नका लागि गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

वडाध्यक्ष यामबहादुर खत्री (पौडेल) ले तालिम सिकेर मात्र नहुने यसलाई व्यवहारमा उतारेमा मात्र सार्थकता हुने भन्दै तालिमलाई व्यवहारमा उतार्न इमान्दारिताका साथ लाग्न आग्रह गरे ।

तालिमकी सहजकर्ता उषा निरौलाले महिलाले अदुवाबाट उत्पादन हुने क्याण्डी, जुस र अचारको बजारीकरणका लागि आफूले सहयोग गर्ने बताइन् । ‘अदुवाको परिकार उत्पादन गरेर मलाई दिनुस्, म बजारमा जतिपनि विक्री गरिदिन्छु,’ निरौलाले भनिन् ।

महिला सञ्जालकी अध्यक्ष मञ्जु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले अदुवा प्रशोधन गरेर उत्पादन गरेका परिकारहरू उपाध्यक्ष, वडाध्यक्ष तथा तालिमका सहभागीलाई वितरण समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार