इलाममा ३६ हजार भन्दा बढीको स्वास्थ्य बिमा

सुजता सुनुवार
इलाम : इलाममा ३६ हजार भन्दा बढीले स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले स्वास्थ्य बिमा गराएका नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड इलामले जनाएको छ ।

बिमितमध्ये हालसम्म ३० हजार चार सय पाँच जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । सेवा लिएकामा २३ हजार तीन सय ५५ ले इलामका विभिन्न स्वास्थ्य सस्था र अस्पतालबाट सेवा लिएका छन् भने झापाबाट पाँच हजार ५० र अन्य जिल्लाका अस्पतालबाट दुई हजारले सेवा लिएका बोर्ड इलामका दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो , “बिमित संख्या बढेसँगै सेवामा समेत थप गरिएको छ । ” सेवा लिने बिरामीले ११ सय १८ प्रकारका औषधी निःशुल्क पाउने व्यवस्था गरिएको छ । विगतमा पाँच सय ३० प्रकारका मात्र औषधी निःशुल्क वितरण हुदै आएको थियो । पाँच सय ८८ प्रकारका औषधी थप गरी अहिले ११ सय १८ प्रकारका निःशुल्क औषधी पाउने व्यवस्था भएको जनाइएको छ ।

यस्तै बिमितलाई अस्पतालबाट आकस्मिक , अन्तरङ्ग , शल्यक्रिया , बहिरङ्ग , प्रयोगशाला , एम आर आई सेवा र ४० वर्ष कटेकालाई निःशुल्क स्वास्थ्य जोखिम परीक्षण सेवा समेत दिइदै आएको छ ।स्वास्थ्य सेवामा सहज पार्नका लागी इलामका चार प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क एक्स्रे मेसिन उपलब्ध गराइएको छ । जिल्लाका ग्रामिण क्षेत्र मानिएकाका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क मेसिन प्रदान गरिएको बोर्ड इलामले जनाएको छ ।

बिमित बिरामीहरुले इलामका इलाम अस्पताल , जिल्लाका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङ प्राथमिक स्वास्थ्य केन्द्र, झापाको मेची अञ्चल अस्पताल चन्द्रगढी, आम्दा अस्पताल दमक र मेची आँखा अस्पताल तथा बिराटनगरको नोभेल अस्पताल, धरानको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित काठमाडौंका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिदै आएका छन् ।

स्वास्थ्य बिमा गराउने मध्ये इलाममा अधिकांश दीर्घ रोगीका बिरामी बढी देखिएका छन् । बोर्डका अनुसार , उच्च रक्तचाप, ग्यास्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने बिरामीको संख्या बढी रहेका छन् ।

सरकारले २०७२ चैत २५ गतेबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ स्वास्थ्य बिमा अभियान सुरु गरेको हो । बागलुङ्गबाट पहिलो चरणमा सुरु गरिएको अभियान दोस्रो चरणमा इलामबाट स्वास्थ्य बिमा सञ्चालन गरिएको हो ।इलाममा २०७३ असार १५ बाट स्वास्थ्य बिमा दर्ता प्रक्रिया शुरू गरी भदौ १ गतेबाट सेवा दिन शुरू गरिएको थियो । हाल जिल्लामा विभिन्न स्थानिय १० तहमा ८२ जना दर्ता सहयोगीबाट स्वास्थ्य बिमा बोर्डले गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार