राम योङहाङ
इलाम : इलाममा सञ्चालित एक मात्र सामुदायिक अस्पताल आर्थिक अभावमा बन्द भएको छ । इलाम नगरपालिका–८ स्थित सिङफ्रिङमा विगत १४ वर्षदेखि सञ्चालित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको सम्पूर्ण सेवा ठप्प भएको हो ।
दक्ष चिकित्सकको अभाव भएसँगै विरामीसमेत आउन छाडेपछि अस्पताल प्रशासनले सूचना प्रकाशन गरेरै अनिश्चितकालीन रूपमा अस्पतालका सेवाहरू बन्द भएको जनाएको छ । ‘हिमालयन हेल्थ केयर नेपाल’ नामक गैरसरकारी संस्थाद्वारा सञ्चालित अस्पताल बन्द भएपछि इलामसहित छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुमका हज्जारौँ प्रभावित भएका छन् । इलाममा नै उपचार हुने त्यहाँका बिरामीहरू झापासम्म झर्न बाध्य भएका छन् ।
स्थापनाको पाँच वर्षसम्म अस्पताल निकै राम्रोसँग सञ्चालन भएको थियो । जिल्ला अस्पतालभन्दा राम्रो सुविधा भएका कारण पूर्वी पहाडको वैकल्पिक अस्पतालको रूपमा स्थापित थियो । जिल्ला अस्पताल इलामबाट समेत सो अस्पतालमा रिफर गर्ने गरिएको थियो ।
वर्षको दुई पटक अमेरिकाबाट विशेषज्ञ चिकित्सकको टोली सो अस्पताल आएर विभिन्न स्वास्थ्य सेवा दिनाका साथै गाउँगाउँमा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको थियो ।
तर, पछिल्लो समय हिमालयन हेल्थ केयरलाई अमेरिकाबाट आर्थिक सहयोग आउन छाडेपछि उक्त अस्पतालको स्वास्थ्य सेवा ठप्प नै भएको हो । ‘हिमालयन हेल्थ केयर नेपाल’ ले आफ्ना तत्कालीन सदस्य स्वर्गीय डा. मेघबहादुर पराजुलीको नाममा अस्पताल स्थापना गरेको थियो । अस्पताल सञ्चालनका लागि अमेरिकन चिकित्सकहरूले दातृ निकायसँग मागेर ‘हिमालयन हेल्थ केयर नेपाल’ लाई आर्थिक सहयोग गर्दै आएका थिए ।
पाँच वर्षभित्र समुदायलाई हस्तान्तरण गर्ने उद्देश्यका साथ अस्पताल स्थापना गरिएको भए पनि नेपालमा सामुदायिक अस्पताल सञ्चालनसम्बन्धी कुनै कानुन नभएकाले समुदायलाई हस्तान्तरण हुन नसकेको स्थानीय धर्म गौतमले बताए । समुदायलाई हस्तान्तरण गर्ने भनिए पनि कसरी हस्तान्तरण गर्ने भन्ने कानुन नै नभएपछि थप समस्या सुरु भएको उनको भनाइ छ ।
उसो त अस्पताल संरक्षणमा राज्य उदासीन भएको सरोकारवालाको भनाइ छ । ‘१४ वर्षसम्म दातृ निकायले दिएको भरमा गैरसरकारी संस्थाले अस्पताल सञ्चालन गर्नु चानचुने कुरा होइन,’ गौतम भन्छन्, ‘समुदायमा हस्तान्तरण गर्न कानुनी जटिलता र दातृ निकायबाट सहयोग बन्द हुनु । यतिवेला व्यवस्थापनमा राज्यको ध्यान जान जरुरी छ ।’
०६६ सालसम्म जिल्लामा नै पहिलो र एक मात्र सेवा कल्चर टेस्ट (एमएमएलटी) ल्याब सेवा प्रदान गर्दै आएको थियो । यस्तै, बहिरंग, अन्तरंग, साधारण ए–क्सरे, भिडियो इसिजी, दन्त, प्रसूति सेवा, आँखा उपचार लगायतका स्वास्थ्य सेवा दिँदै आएको थियो । अस्पतालले न्यून शुल्कमा सेवा प्रदान गर्नुका साथै मुटुरोगी तथा विपन्न र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने व्यवस्थासमेत गरेको थियो । ६ जना मुटुरोगीलाई काठमाडौंसम्म लगेर निःशुल्क स्वास्थ्य सेवासमेत प्रदान गरेका थियो ।
अस्पतालमा दैनिक ६० भन्दा बढी बिरामीले सेवा लिँदै आएका थिए । एक जना एमडिजीपी, एक जना एमएमएलटी र ६ जना मेडिकल अफिसर डाक्टरसहित ६० बढी कर्मचारीले सेवा दिँदै आएका थिए । त्यस्तै, दुई जना सुरक्षा गार्ड, दुई जना कार्यालय सहयोगी र एक÷एक जना कार्यालय प्रमुख र लेखाका कर्मचारी गरी ६ जनाले रोजगारीसमेत पाएका थिए ।
स्वास्थ्य सेवाको पहुुँचबाट टाढा रहेका बिरामीलाई सस्तो र भरपर्दो सेवा पु¥याउने उद्देश्यका साथ ०६१ सालमा डा. मेघबहादुर पराजुली क्लिनिकको नाममा सामुदायिक अस्पताल स्थापना भएको थियो । उक्त अस्पतालले २५ माघ ०६४ देखि स्वास्थ्य मन्त्रालयबाट १५ शैय्याको अस्पताल सञ्चालनको स्वीकृति पाएर सञ्चालन भइरहेको थियो ।
२४ घण्टै बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पतालका सम्पूर्ण सेवा ठप्प हुँदा करोडौँको सामान प्रयोगविहीन छ । विभिन्न उपकरण तथा अस्पतालको एम्बुलेन्ससमेत काम नलाग्ने गरी बिग्रिएर थन्किएको छ ।