करोडौंको काठ कुहिदैं

राम योङहाङ

इलाम : विभिन्न समयमा तस्करबाट बरामद भई मुद्दा प्रक्रियामा रहेका ठूलो परिमाणका काठको समयमै लिलाम हुन नसक्दा कुहिन थालेको छ । करोडौँको काठ दक्षिणी सेक्टर वन कार्यालय सुखानी इलामको कार्यालय परिसरमै कुहिन थालेको छ ।

जिल्लाको चुरे क्षेत्रका सामुदायिक वनबाट बरामद गरिएका बहुमुल्य प्रजाति सालका काठ कुहिन थालेको हो । साथै सो काठ तस्करमा प्रयोग ग।िएका दर्जनौं सवारी साधनहरु पनि जीर्ण बन्दै गएका छन् ।

२०६८ सालयता कार्यालयमा मुद्दा चलेको १३ हजार दुई सय ८४ क्युफिट सालको चिरान काठ कुहिएर काम नलाग्ने अवस्थामा पुगेको छ । यस्तै जिल्ला अदालतमा मुद्दा चलेको ६६ क्युफिट अन्य प्रजातिको गोलिया पनि कार्यालयपरिसरमै थन्किएको छ ।

मुद्धा बाहेकका वेवारिसे बरामदी काठको अवस्था पनि उस्तै छ । कार्यालयको तथ्याङक अनुसार ६ हजार ९३ क्युफिट सालको चिरान र ५ सय ९९ क्युफिट सालको गोलिया काठ कुहिने अवस्थामा छ । यस्तै अन्य प्रजातिका ३ हजार एक सय २९ क्युफिट गालिया कुहिन थालेको छ ।

अदालत र वनमा चलेको मुद्दाको समयमै टुंगो नलाग्दा वर्षातको पानीले काठ कुहिएर करोडौं रुपैयाँको सम्पत्ति नोक्सान भइरहेको छ । मुद्धाको फैसला ढिला भईरहेकाले करोडौंको सम्पत्ति नष्ट हुँदै गएको हो ।

कानुनअनुसार १० हजार रुपैयाँ बिगो बराबरको काठ मुद्दा जिल्ला वन कार्यालय र १० हजार बिगो भन्दा माथिको मुद्दालाई जिल्ला अदालतमा पेस गरिन्छ । तर, मुद्दा टुंगो लाग्न नसकेको अवस्थामा वन कार्यालयमा राखिएको काठ संरक्षण गर्न नसक्दा कुहिएर खेर गइरहेका छन् । वन कार्यालयमा रहेका कतिपय मुद्दा चलेका काठ कुहिएर माटोमा परिणत भइसकेका छन् भने अधिकांश काठ प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् । जिल्ला वन र अदालतमा काठ तस्करीको अभियोगमा दर्जनौ मुद्धा छ । अदालत तथा जिल्ला वन कार्यालयबाट मुद्दा फैसला ढिलो हुँदा बरामदी सामानको लिलाम बिक्रिमा समस्या भएको दक्षिणी सेक्टर वन कार्यालय सुखानीका सहायक वन अधिकृत हरीनारायण मण्डलले बताए ।

मुद्दा टुंगो नलाग्दा काठ तस्करीमा प्रयोग गर्दा प्रयोग हुँदै आएका बरामदी दर्जनौ ट्याक्टर, साइकल, फिकअप भ्यान, ट्रक, मोटरसाईकल लगायतको सवारी साधन समेत जीर्ण बनेका छन् । मुद्धा तर्फका आठ वटा ट्याक्टर, ५१ वटा साइकल, २ वटा पिकअप भ्यान, २ वटा बस र ३ वटा मोटरसाइकल जिर्ण बन्दै गएको छ । त्यस्तै वेवारिसे २ सय ५४ वटा साइकल तथा उक एक वटा मोटरसाइकल र ट्याक्टर जीर्ण बनेको छ ।

सेक्टर वन कार्यालय परिसरमा रहेका काठ तथा सवारी साधनको वास्तविक मुल्य कति हो भन्ने तथ्याङ कार्यालयमा छैन । सवारी साधन सहित कार्यालयमा करोडौंको सामान रहेकोे सहायक वन अधिकृत मण्डलले बताए ।

कार्यालयमा ६ वर्षदेखीको काठ तथा सवारी सामानहरु छन् । कतिपय जिल्ला अदालतबाट मुद्धा फैसला भएपनि माथिल्लो अदालत जाने भएकाले प्रक्रिया लामो हुने गरेको छ ।

मुद्दाको टुंगो नलाग्दा बरामद भएका काठ लिलाममा चढाएर उपयोगमा ल्याउन समेत नसकिएको कार्यालयका नासय सुब्बा उपेन्द्र अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार