नयाँ, ठूला र सुविधासम्पन्न बस ल्याएर सेवा थालेको मयूर यातायात प्रालिले सरकारले रुट इजाजत दिए ग्रामीण भेगमा पनि सेवा दिन तत्पर रहेको बताएको छ ।
आफ्नो सेवाविरुद्ध कोटेश्वर पूर्वका १३ यातायात संघ/समितिले आइतबारबाट आन्दोलन सुरु गर्ने भएपछि मयुरले शनिबार बनेपामा पत्रकार सम्मेलन गर्दै सरकारले अनुमति दिएको खण्डमा ग्रामिण भेगमा समेत सेवा दिने बतायो ।
‘हामी अरु सय वटा सवारी चलाउने योजनामा छौ, ग्रामीण भेग पनि प्राथामिकतामा छ,’ समितिका सचिव रामबहादुर केसीले भने, ‘अझै सुरक्षा चुनौती छ, हाम्रा १० वटा गाडी तोडफोड भए र ४ वटा चल्नै नसक्ने गरि फोडिएको छ ।’
प्रशासन एक्सनको तयारीमा
व्यवसायीले मयूरको बिरोधमा भक्तपुर र काभ्रेको ग्रामीण भेगमा सेवा अवरुद्ध गरेर जिल्ला प्रशासन कार्यालय काभ्रेले ‘एक्सन’ लिने बताएको छ ।
‘सडकमासेवा दिन्छु भनेर गाडी हालेपछि कसैले गाडी रोक्न पाउँदैन, त्यस्तो भए हामीले एक्सन लिनुको विकल्प छैन,’ प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले भने,’अरनिको यातायात र मयुर यातायातका लगानीकर्ताहरुबीच सद्भाव कायम राख्न आइतबार मैले बैठक राखेको छु ।’
कोटेश्वर पूर्वका यातायात व्यवसायिहरुले अगाडी चैत्र १८ गते बाट विभिन्न चरणको आन्दोलन घोषणा गरेका छन् । जसअन्तर्गत काभ्रे र भक्तपुरका ग्रामिण भेगमा सवारी साधान नचलाउनेदेखि कोटेश्वर पूर्वको बाटो बन्द गर्ने सम्म कार्यक्रम छ ।
१७ दिन देखि स्कटिङमा चलेको मयूर
नयाँ बस नया रुट इजाजत लिएर बनेपामा चैत्र १ गते भित्रिएपछि प्रहरीले साँगादेखि बनेपासम्म स्कर्टिङमा ल्याउने गरेको छ भने यात्रु चढ्ने स्थानमा समेत प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको छ ।
‘सार्वजनिक सडकमा पैसा सरकारको नियम अनुसार सवारी चल्न पाउनु पर्छ । अवस्था प्रतिकुल बनेपछिसुरक्षा व्यवस्थापन कडाइ गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुल थापाले भने ।
यातायात व्यवस्था विभागले पनि शनिवार एक सूचना प्रकाशित गर्दै इजाजत लिएर सवारी नचलाए यातायात व्यवस्था ऐन २०४९ र यातायात व्यवस्था नियमावली २०५४ र अत्यावश्यक सेवा ऐन बोमोजिम हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ ।
‘सडकमा प्रतिस्पर्धा हुन्छ, कसैले अवरोध गरे हामी कानुनअनुसार नै कारवाही गर्छौं, सवारी रोक्नेको रुट इजाजत खारेज गर्छौं, सरकारी नियम नमान्ने, सिन्डिकेट लगाउनेहरुलाई कानूनको दायारामा ल्याउँछौं ।’ विभागका महानिर्देशक रूपनारायण भट्टरार्इले भने ।