इलाम :इलाम नगरपालिकामा १० दिने उद्यमशिलता तालिम बिहीबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा भएको तालिममा इलाम नगरपालिका क्षेत्रमा रहेका ३० जना युवायुवतीहरुको सहभागिता रहेको थियो । घरेलु तथा साना उद्योग विकास समितिका शाखा अधिकृत रुलबहादुर आलेको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा इलाम नगरपालिका वडा नम्बर ७ अध्यक्ष नरेश श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए ।
तालिम समापनमा कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले उद्योग खोल्नु अघिका प्रक्रिया र सीपका बारेमा जानकारी गराएको तालिमको सीप बजारमा आउनुपर्ने बताए । उद्यमशिलता तालिम पछि आफ्ना गाउँघरमा कस्तो उद्योग संचालन गर्ने बारेमा निर्णय गर्न सजिलो भएकाले तालिम पछि सीप सिकेर उद्यमी बन्न प्रेरित गरेको सहभागीहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग विकास समितिका शाखा अधिकृत रुलबहादुर आलेले समितिको वार्षिक कार्यक्रम अनुसार तालिम प्रदान गरिएकाले सीकेको सीपको उपयोग हुनुपर्ने बताए । सीपमुलक तालिमले ग्रामीण क्षेत्रमा उद्योगको स्थापना र विस्तारका लागि ठुलो सहयोग पुगेकाले आगामी दिनमा इलामका सबै गाउँपालिका र नगरपालिकाबाटै सेवा तालिम प्रदान गरिँदै आएको उनले बताए । उद्योग स्थापना, कच्चापदार्थको पहिचान, उद्योग दर्ता लगायतका बिषयमा सीप प्रदान गरिएको तालिमको देबेन्द्र सुवेदी र साधना नुगोले सहजिकरण गरेका थिए ।