इलामको साँखेजुङमा एनसेल टावरमा आगलागी गराएको भन्दै दुई पक्राउ

इलाम:  टेलिफोन सेवा प्रदायक एनसेल कम्पनिको टावरमा आगलागी गराएको आशंकामा बिहीबार दुईजनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका १ साखेजुङमा रहेको टावरमा बिहीबार बिहान आगलागी गराएको भन्दै विशाल राई र बिमल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

 बिहान करिब ३ बजे आगलागी भएको थियो । आगलागी पछि खोजतलास गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्माचार्यले जानकारी दिए । पक्राउ पर्ने दुवैजना सोही ठाउँका स्थानीय समेत रहेको बताइएको छ । पक्राउ पर्ने विशाल किरात मुक्ति मोर्चा इलामका अध्यक्ष समेत भएको प्रहरीको भनाई छ । गएको चुनावमा समेत विशाललाई प्रहरीले पक्राउ परेको एसपी कर्माचार्यले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । आगलागीबाट जेनेरेटर, टावर, मेसीन र तारमा क्षति पुगेको छ । कति क्षति भयो भन्ने यकिन तथ्यांक आउन बाँकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार