सुर्खेत : एसईईको परीक्षा दिइरहेकी सुर्खेतको पञ्चपुरी नगरपालिका –३, की १८ वर्षीया गौरीकला रोकायको हत्याको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।
एसईईको परीक्षामा सहभागी हुन पञ्चपुरी नगरपालिका –५, कै बाबियाचौरमा डेरा लिएर बसेकी रोकायको हत्या भएको आशंकामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए ।
घटना शंकास्पद रहेकोले चार जनालाई पक्राउ गरेर थप अनुसन्धान जारी रहेको उनले बताए । मृतक छात्राको शव पोष्टमार्टमका लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा ल्याइएको उनले बताए । ‘टाउकोमा चोट लागेको छ । शरीरमा पनि चोट देखिएको छ’, उनले भने, ‘अहिले नै के भएको हो भनेर हामीले भन्न सक्ने अवस्था छैन् । अनुसन्धान गरिरहेका छौँ ।’
बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयहरुले कोठामा गएर हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
रोकाय सूर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत थिइन् । पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी – ५, बावियाचौर परीक्षा केन्द्रमा उनले परीक्षा दिइरहेकी थिइन् ।