स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्दै

झापा : झापा जिल्लामा यसै वर्षबाट लागु भएको स्वास्थ्य विमा कार्यक्रम निकै प्रभाबकारी बनेको देखिएको छ ।

८ लाख १२ हजार ६ सय ५० कुल जनसंख्या रहेको यस जिल्लामा हालसम्म ४० हजार बढिले नेपाल सरकारले लागु गरेको नागरिक स्वास्थ्य विमा कार्यक्रममा सहभागि भइसकेको पाइएको छ ।

गत पुषबाट जिल्लाका १५ वटै स्थानीय तहका १ सय ३१ वटै वडामा यो कार्यक्रम लागु भएको स्वास्थ्य विमा वोर्ड शाखा कार्यालय झापाले जनाएको छ । जिल्लाका सवै वडाहरुमा अहिले १ सय ९२ जना दर्ता सहयोगीहरुले नागरिकहरुको स्वास्थ्य विमा गराई रहेको कार्यालयका दर्ता अधिकारी पशुपति चौधरीले जानकारी दिए ।

सो कार्यक्रम अन्र्तगत एकाघरका ५ जना सदस्यसम्मको २ हजार ५ सय रुपैयामा एक वर्षसम्म लागु हुने गरि विमा गरिने गरिएको चौधरीले जानकारी दिए । ५ जना भन्दा बढि सदस्य रहेको घर परिवारका लागि भने प्रति सदस्य थप ४ सय २५ रुपैया अतिरिक्त लिने गरिएको चौधरीले जानकारी दिए ।

विमा कार्यक्रममा सहभागि बनेका सर्वसाधारणहरुले तोकिएको स्वास्थ्य संस्थाहरुबाट बार्षिक एक परिवार वराबर ५० हजार रुपैया सम्मको निःशुल्क औषधी र उपचार सेवा पाउने कार्यालयले जनाएको छ । विमा गरेको नागरिकहरुलाई सहज रुपमा उपचार सेवा दिन जिल्लाका ११ वटा स्वास्थ्य संस्थाहरु तोकिएको छ । यसरी तोकिएका ६ वटा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा धुलाबारी, शिवगञ्ज, खजुरगाछी, शनिश्चरे, वनियानी र सुरुङा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

यसैगरि मेची अञ्चल अस्पताल, दमक अस्पताल, आम्दा अस्पताल दमक, र लाईफ लाईन अस्पताल दमकबाट पनि सो सेवा लिन सकिने कार्यालयका दर्ता अधिकारी चौधरीले जानकारी दिनुभयो । यो कार्यक्रम अन्र्तगत जिल्ला भित्र तोकिएका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा उपचार संभव नभएका विमा गरिएका विरामीहरुलाई अन्य ठुला र सुविधा सम्पन्न अस्पतालहरुमा समेत पठाउन सकिने व्यवस्था रहेको छ ।

हाल प्रदेश नम्बर १ का ५ वटा जिल्ला इलाम, झापा, सुनसरी, खोटाङ र भोजपुरमा यो कार्यक्रम लागु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार