प्रधानमन्त्री ओलीद्वारा कुटनीतिक समूदायलाई सम्वोधन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्ना छिमेकी राष्ट्रहरुको सम्बन्धलाई अझ बढी प्रगाढ र सदृढ बनाउन अझ बढी प्रतिवद्ध रहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कुटनीतिक समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय समुदायसँगको आपसी सम्बन्धका विविधताहरुलाई अझ पहिल्याउँदै लगिने बताउँदै व्यापार, लगानी, पर्यटन र जनस्तरको आदानप्रदानलाई हामी महत्व प्रदान गर्ने उल्लेख गरे । ‘आपसी सहयोगका क्षेत्रमा हामी विकासका प्रमुख साझेदारहरुसँगको दुई पक्षीय सम्बन्धलाई निरन्तर अगाडी बढाउने छौं ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले विकासका साझेदारहरुबाट प्राप्त भइरहेको सहयोग र साहायताको विशेष रुपमा स्मरण गरे । प्रधानमन्त्री ओलीले भने।, ‘हामीले विकास–सहयोगको क्षेत्रमा सफलताका कथा प्रस्तुत गर्न सक्नै पर्दछ ।’

प्रधानमन्त्री ओलीले नेपालको विद्यमान संविधानमै नेपालको राष्ट्रिय स्वार्थलाई सुस्पष्ट रुपमा परिभाषित गरिएको बताउँदै संविधानले नै अन्तराष्ट्रिय सम्बन्धको खाका प्रस्तुत गरेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको कुटनीतिक लक्ष्यका आधार अन्तराष्ट्रिय स्तरमा लोकतन्त्रको विस्तारित अभ्यास भइरहेको राष्ट्रका रुपमा नेपालको छवि प्रवद्र्धन गर्नु र आर्थिक सामाजिक विकासका कारकको पहिचान गर्नु नै भएको बताए ।

उनले नेपालको कुटनीतिक सम्बन्धका आधारहरुका विषयमा प्रकाश पार्दै राष्ट्रिय स्वार्थ अन्तरगत सार्वभौमिकता, अखण्डता र स्वाधिनतालाई सर्वोपरी महत्व दिइने बताए ।

नेपाल पञ्चशील र असंलग्नताको सिद्धान्तका साथै संयुक्त राष्ट्रसंघको वडापत्र, अन्तराष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताहरुप्रति प्रतिवद्ध रहनेछ भन्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले देशको संस्कृति,सभ्यता र पहिचानलाई अमूल्य निधीको रुपमा उल्लेख गर्दै भने, ‘नेपाललाई विविधता र स्रोतले परिपूर्ण राष्ट्रका रुपमाविश्वमा परिचित गराउने हाम्रो लक्ष्य रहेको छ ।’

प्रधानमन्त्री ओलीले बहुपक्षीय सम्बन्धलाई अघि बढाउने क्रममा संयुक्त राष्ट्रसंघ लगायतका विश्व–संस्थाहरुमा नेपालको भूमिका अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले शान्ती, सुरक्षा, विकास तथा मानवअधिकारजस्ता संयुक्त राष्ट्र संघीय सुधारको पहलका तीन वटै आधार स्तम्भहरुलाई समान मान्यता प्रदान गरिने बताउँदै भने, ‘हामी यो विश्व निकायलाई अझ बढी सक्षम, प्रभावकारी र अझ जवाफदेही बनाउने समयसापेक्ष मागको पक्षमा छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार