माइभ्याली गोल्डकपको चौथो संस्करण ६ वैसाखदेखि

नयाँ बुलन्द

इलाम : इलाममा सञ्चालन हुन लागेको पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप चौथो संस्करणको तयारी तीब्र पारिएको छ ।

आगामी ६ वैशाखदेखि हुन लागेको गोल्डकप सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । माइभ्याली फुटबल क्लबको आयोजनामा हुने गोल्डकपको सबै तयारी तीब्र पारिएको इलाममा सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराइयो ।

यस संस्करणमा नेपाल, भारत र बंगलादेशका १२ वटा टिमले प्रतिष्पर्धा गर्ने निश्चित भएको माईभ्याली गोल्डकपका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए । गोल्डकपमा भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाईटेड, बंगलादेशको एएचएम कामारुजमान, नेपालका ए डिभिजन क्लबका तीनवटा बिभागीय टिमहरु त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको (एपीएफ) क्लब तथा संकटा, थ्रीस्टार, मनाङ–मरस्याङ्दी क्लबले प्रतिष्पर्धा गर्नेछ । यस्तै मोफसलमा तहल्का मच्चाउँदै आएको तथा ए डिभिजन लिग समेत खेलिसकेको झापा ११ सहित कास्की ११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिष्पर्धा गर्नेछ ।

यस संस्करणदेखि प्रतियोगिताको पुरस्कार राशी समेत बढाइएको छ । यस संस्कणको विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपबिजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ । त्यसैगरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ र म्यान अफ दि म्याचले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अघिल्लो संस्करणको विजेताले नगद चार लाखरुपैयाँ र उपविजेताले नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
प्रतियोगिताका लागि मैदान सफा गर्ने, दर्शकलाई बस्न बाँसको प्यारापिट निर्माण गर्ने, खेल मैदानको चौरीमा पानी लगाउने जस्ता कामका लागि सबै तयारी सुरु गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न आयोजकले ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । गोल्डकपको मुख्य प्रायोजकको रूपमा गोर्खा इलाम नगरपालिका रहेको छ । दर्शक, स्थानीय उद्यमी व्यवसायी, वैदेशिक रोजगारमा रहेका फुटबल फ्यान र प्रतियोगिताका स्पेशल दाताले गरेको आर्थिक सहयोग नै फुटबल खेल सम्पन्न गर्नमा सहयोगी हुने माइभ्याली फुटबल क्लबका अध्यक्ष चेम्जोङले बताए ।

प्रतियोगिताको फाइनल आगमी १७ वैशाखमा हुनेछ ।

२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप प्रतियोगिता पूर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार