नयाँ बुलन्द
इलाम : भन्सार छलेर अबैध रुपमा नेपाल भित्राएको लाखौं मूल्य बराबरको सामान पूर्वी इलामको सूर्योदयनगरपालिका स्थित तीनघरेबाट प्रहरीले बरामद गरेको छ ।
दुईवटा पिकअप गाडिमा सिमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर भित्राएको चाउचाउ, कोल्ड ड्रिङक, मदिराजइन पदार्थ लगायतका करिब साडे नौलाख मूल्य बराबरको सामाग्री तीनघरे प्रहरी चौकि र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलिले बरामद गरेको हो ।
तस्करहरुले धेरै कमाउने मनसाय राखेर राज्यलाई कर नबुझाई नेपाल छिराएका सामान सहित प्रहरीले पिकअप र त्यसका चालकलाई पनि नियन्त्रणमा लिन सफल भएको छ । नियन्त्रणमा लिएको पिकअप र बरामद गरीएको सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले पशुपतिनगर भन्सार कार्यालयको गोदाममा राखेको छ । पिकअप चालकलाई भने प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
पशुपतिनगर, फिक्कलको प्रहरी चौकि र आइतबारेमा सशस्त्र प्रहरीको बेस क्याम्प भएपनि तस्करहरुले ती चेकपोष्टबाट छलेर सामान गाडिमा ल्याउन सफल भएको अवस्थामा अन्तत प्रहरीले मे१ज १६३१ र मे१ज २९२८ नम्बरको पिकअप, भन्सार छलेर ल्याएको लाखौं मूल्यको सामाग्री सहित पिकअपका चालकहरु सुर्योदय नगरपालिका २ का ४० बर्षिय हुकुम तामाङ र सोहि ठाउँका २५ बर्षिय पुरण स्याम्बोलाई पक्राउ गर्न सफल भएको हो ।
बरामद गरेको सामाग्रीको प्रतिबेदन र पिकअप भन्सारमा बुझाउने भनिएपनि शनिबार र आइतबार दुईदिन सार्वजनिक बिदा भएकाले प्रहरीले प्रतिबेदन बुझाएको छैन । तर पिकअप र सामान भने भन्सारको गोदाममा थन्काएको छ । अब सोमबार पक्राउ परेका चालक र बरामद गरीएको सामान र पिकअपको प्रतिबेदन बुझाउने प्रहरीले जनाएको छ ।
भन्सार कार्यालयका नायब सुब्बा तथा सुचना अधिकारी चेतनाथ खनालले पनि बिदाको समयमा प्रतिबेदन बुझन नसकिने हुँदा सोमबार मात्र भन्सार बुझेर बरामद भएको सामाग्रीको काउण्टिङ गरीने बताए । कानुनी कुराले गर्दा भन्सार कार्यालयले प्रहरीले ल्याएको प्रतिबेदन बुझन नसकेको हुँदा प्रहरीले बरामद गरेको सामानमा के–के छन्, कति मूल्यको छ भन्ने बारेमा थाहा हुन नसकेको नासु खनालले बताए ।
बरामद भएको सामान प्रहरी कार्यालयमा राख्न ठाउँ अभाव भएकाले तत्कालका लागि पिकअप र सामाग्री राख्न भन्सारको गोदाम मात्र उपलब्ध गराएको खनालले स्पष्ट पारे । भन्सार छलेर ल्याएको सामाग्री प्रहरीले शुक्रबार दिउँसो करिब साढे ३ बजे बरामद गरेको जनाएको छ । बढी प्रलोभनको लोभमा परेर तस्करहरुले खुल्ला सिमानाको फाइदा उठाएर भन्सार छलेर प्रायजसो चोर बाटोको प्रयोग गरेर प्राय दिनहुँजसो अबैध रुपमा नेपालतर्फ सामाग्रीहरु भित्राउँदै आएका छन् ।
पशुपतिनगर क्षेत्रमा पर्ने सिमा नाकाबाट अबैध रुपमा नेपालतर्फ भित्राएको उक्त सामाग्रीहरु इलाम, पाँचथर, ताप्लेजुङ, तेह«थुमसम्म पुरयाउँदै आएका छन् । सिमा क्षेत्रमा प्रहरीको बलियो उपस्थिती नहुँदा भन्सार नतिरि सामाग्री नेपाल भित्राउने तस्करहरुको बिगबिगी बर्षौदेखि बढिरहेको छ । जसको कारण बर्षेनि राज्यलाई राजस्व संकलनमा करोडौं रुपैंयाँ घाटा भइरहेको छ ।