ढापपोखरी महोत्सव सकियो

राम योङहाङ

इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरीमा दुई दिनसम्म चलेको ढापपोखरी साँस्कृतिक महोत्सव आईतबार सकिएको छ । समुदायस्तरबाट प्रर्वधन भएको ढापपोखरीमा रामनवमीको अवसरमा महोत्सव आयोजना गरिएको थियो ।

चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समिति जमुनाले आयोजना गरेको महोत्सवमा सयौं गीत, संगीत र नृत्यको स्वाद लिएका थिए । ‘हाम्रो जमुना हाम्रो सान, भाषा संस्कृति सद्भाव र पर्यटन हाम्रो पहिचान’ भन्ने नाराका ासथ आयोजित महोत्सवमा राष्टिय, क्षेत्रीय तथा स्थानीय कलाकारहरुले आ–आफ्ना कला प्रस्तुत गरेका थिए । महोत्सवमा कुवेर राई, गणेश पराजुली, यशोदा पराजुली, इन्द्र गुरुङ, कोमल निरौला, देवि गौतम, रगुन गुरुङ, पुजन प्रधान, भुपेन्द्र राई, राजेश चाम्लिङ, प्रकाश वस्नेत, महेन्द्र लिङदम, रमेश बोखिम, बृज प्रधान, कृष्ण भट्टराई, युगल क्षेत्री.सहित ५० बढी कलाकारले कला प्रस्तुत गरेको थिए ।

युनिक डान्स सेन्टर र युनिभर्सल डान्स सेन्टरको कल्चरल र मोर्डन नृत्यसहित स्थानीय आदिवासीहरुको जातीय झाँकीले दर्शकको मनलाई लालायित बनाएका थिए । महोत्सवमा सन्दकपुर गाउँपालिका क्षेत्रका राई जातिको साकेला, लिम्बू जातिको बेलाङ (च्याब्रुङ नाच), मगर जातिको हुर्रा, ब्राम्हण जातिको संगिनी हेर्न लायक थियो ।

आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक आयोजित महोत्सवमा सीमापारी दार्जिलिङसहित नेपालका विभिन्न भागबाट पर्यटकहरु आएका थिए ।

उनीहरुले विभिन्न प्रजातिका वनस्पति, जडबिुटीहरु, स्थानीय हस्तकला र विभिन्न कृषिजन्य वस्तुहरुको अवलोकन गर्ने अवसर पाएका थिए । त्यस्तै ढाप पोखरीमा डुङ्गा सयर गर्न साथै हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीय स्थलको घुमघामसँगै लोपोन्मुख रेडपाण्डाको समेत अवलोकन गरेका थिए ।

कल्चरल भिलेजको अवधारणा अनुसार सवै जातजातिको संस्कृतिलाई संरक्षण र प्रर्वधन गर्न महोत्सव फलदायी भएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए । ‘पर्यटनको सम्भावनै सम्भावना भएको यस क्षेत्रमा आयोजित महोत्सवले पर्यटन विकासमा थप टेवा मिलेको छ’ अध्यक्ष राईले भने, ‘यस क्षेत्रको विकासका लागि आगामी दिनमा थप बजेटको व्यवस्था गर्नेछौं ।’

ढाप पोखरीसहित हाँगेथाम, चोयाटार, जौवारीलगायत पर्यटकीय क्षेत्रको प्रर्वधनका लागि भन्दै शनिबारदेखि महोत्सव सुरु भएको थियो । महोत्सवले समग्र जमुनाको पर्यटन विकासमा टेवा पुगेको आयोजक समितिका अध्यक्ष विप्लव भट्टराईले बताए ।

महोत्सवको समापन १ नम्बर प्रदेशका सांसद खिनु लङ्वा लिम्बूको प्रमुख आतिथ्यतामा भएको थियो । समापनका अवसरमा कलाकाहरु सहित विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

२०७२ वैशाखदेखि ढापपोखरी विस्तार र संरक्षणमा स्थानीयको निरन्तरको प्रयास जारी छ । गएको तिहारदेखि डुङगासमेत सञ्चालन गरिएको छ ।

पर्यटनको अथाहा संभावना भएको सन्दकपुर गाउँपालिकामा माइपोखरी, सन्दकपुर, ढापपोखरी, छिन्टापु, टोड्के झरना, मावुथाम, चोयाटार, हाँगेथाम, जौवारी, कालपोखरीलगायतका स्थानसहित दुर्लभ रेडपाण्डा र अनेकन जंगली जनावर, पशुपंक्षीको बासस्थान छ ।

यो क्षेत्र जैविक विविधता, धार्मिक र सांस्कृतिक हिसावले पनि महत्वपूर्ण रहेकाले यस प्रकारका प्रर्वधनात्मक कार्यक्रम र पूर्वाधार विकासमा जोड दिनुपर्ने सरोकारवालको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार