नयाँ बुलन्द
इलाम : इलामको फाकफोकथुम गाउँपालिका–६ हाङमासुलीमा समुदायमा आधारित चार दिने ललीपप बनाउने तालिम शनिवारदेखि सुरु भएको छ ।
फाकफोकथुम गाउँपालिका–६ स्थित महिला सञ्जालद्वारा आयोजित उक्त तालिममा सोही वडाका २५ जना भन्दा बढी महिलाको सहभागिता रहेको छ ।
तालिमलाई पुष्पास्नेह ललीपप उद्योगका सञ्चालक खगेन्द्र लिङदम र गाउँपालिकाका नासु प्रेमप्रसाद पाण्डेले सहजीकरण गरिरहेका छन् ।
तालिममा ललीपप बनाउन आवश्यक कच्चा पदार्थको जानकारी, उद्योगलाई आवश्यक पर्ने उपकरण तथा लगानी, उद्योगको फाइदा बेफाइदाका बारेमा जानकारी गराइयो ।
ललीपप, बम्वैसनलगायत दुग्धजन्य पदार्थ उत्पादन तथा बजारीकरणका लागि एकतप्पा उपयुक्त स्थान भएकाले सहभागीले तालिम पश्चात व्यवसाय सञ्चालन गरिने प्रतिबद्धता समेत जनाएका छन् ।
तालिमको उद्घाटन अवसरमा वडाध्यक्ष डिकबहादुर थापाले महिलाले थोरै लगानीमा धेरै नाफामूलक व्यवसाय ललीपप उद्योग स्थापनाका लागि पनि वडापालिकाले सहयोग गर्ने बताए । ललीपप उद्योग सञ्चालन गरेमा रोजगारीका लागि विदेशिनु नपर्ने उनको भनाई थियो ।
महिला सञ्जालकी अध्यक्ष श्रृजना पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडासदस्य डम्बर दाहाल, प्रेमप्रसाद पाण्डेलगायतले बोलेका थिए ।