इलाम : जिल्ला प्रहरी कार्यालय इलामले प्राप्त सूचना सञ्चारकर्मीलाई सहज रुपमा दिने गरेको छैन । घटना भएको जानकारी आए पनि प्रहरीले सूचना सार्वजनिक गर्न नचाहने गरेको हो ।
सञ्चारकर्मीले समेत घटनाको आधिकारिकताका लागि प्रहरीको श्रोत उल्लेख गर्नु पर्ने हुन्छ । प्रहरीको समेत सञ्चार शाखा हुन्छ । उक्त शाखा सरकारको आधिकारिक श्रोत भए पनि सूचना नै दिन नचाहाँदा सर्वसाधारणलाई सूचना प्रवाह गर्न पत्रकारहरु नै चुक्ने गरेका छन् ।
भर्खरै मात्र इलामको पशुपतिनगरमा प्रहरीले मदिरा बरामद गरेको सूचना सञ्चारकर्मी समक्ष आयो । संचार माध्यमलाई यो सूचना आए पनि प्रहरी समक्ष जानकारी माग्दा ‘माछा माछा भ्यागुता’ बनाउने काम भयो ।
किनकी सो घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाबाट जानकारी माग्दा इलाका प्रहरी कार्यालय पशुपतिनगरमा सम्पर्क गर्न आग्रह गरियो । र काशिनाथ ओली त्यहाँको निमित्त प्रमुख समेत भएको जानकारी गराउँदै उनलाई सम्पर्क गर्न आग्रह गरेपछि उनैलाई सम्पर्क गरियो । उनले उम्कने प्रयास गर्दै भने, ‘हाम्रो सम्पुर्ण टिपोर्ट जिल्लामा दिएको हुन्छ उतै सम्पर्क गर्नुहोला ।’
सामान चाहिँ बरामद भएकै हो भन्दै उनले पुन जिल्लाबाट नै सूचना लिन आग्रह गरे । उनलाई पटक पटक भन्नै नमिल्ने कुरा हो र ? भनेर सोध्दा पनि जिल्लाबाट नै सूचना लिन आग्रह गरे । कति र किन बरामद भन्न चाहेनन् उनले र भने ‘बरामद भएको हो हामीले भन्न मिल्दैन उतै सोध्नु ।’
उता भन्सार कार्यालय पशुपतिनगरका नावय सुब्बा चेतनाथ खनालले २ पिकअप सामान भन्सारमा आए पनि प्रहरीको प्रतिवेदन प्राप्त नभएकाले केहि भन्न नमिल्ने बताए । उनले चाउचाउ, कोल्डड्रिङ्क लगायतका सामान बरामद भएको बताए पनि पिकअपमा प्रतिबन्दीत सिक्कीमे रम भित्रिएको बुझिएको छ । नासु खनालल आईतबार सार्वजनिक बिदा भएकाले सोमबार प्रहरी प्रतिवदन बुझेपछि सबै थाहा हुने बताए ।
पशुपतिनगरमा भन्सार छली र अवैध सामान भित्रीए पनि सम्बन्धित निकायले गोप्य राख्ने गरको छ । प्रहरीले सेटिङमा काम गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । सिक्कीममा उत्पादन भएको सिक्कीमे रम अन्यत्र किनबेच गर्न दिईदैन तर पशुपतिनगरका पसलमा खुलेआम किनबेच हुने गरेको छ ।