इलाम नगरका उपभोक्ताबाट पौने तीन करोड रकम संकलन

नयाँ बुलन्द

इलाम : इलाममा सञ्चालन हुन लागेको इलाम बजार तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले उपभोक्तबाट लागत सहभागिताको पाँच प्रतिशत रकम संकलन कार्य तीब्र पारेको छ । इलाम नगरपालिकाका उपभोक्ताबाट हालसम्म पौने तीन करोड बढी रकम संकलन भएको छ ।

उपभोक्ताबाट लागत सहभागिता बावतको चार करोड २७ लाख १५ हजार तीन सय ८१ रुपैंयाँ संकलन गर्नुपर्नेछ । हालसम्म दुई करोड ८० लाख रुपैयाँ संकलन भइसकेको इलाम बजार तेस्रो साना शहरी खानेपानी संस्थाले जनाएको छ । यसका लागि नगरबासीले प्रति धारा वापत नगद १५ हजार रुपैयाँका दरले रकम संकलन गरिरहेको छ ।

लागत सहभागिता बापतको रकम उपभोक्ताले तिरिसकेपछि आयोजनाको आधिकारिक उपभोक्ता बन्नका साथै उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाईप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिने जनाईएको छ ।

खानेपानीको चरम अभाव भोगिरहेका इलाम नगरबासीले आयोजनालाई सम्पन्न गर्न उत्साहित भएर रकम जम्मा गरिरहेको इलाम बजार तेस्रो साना शहरी खानेपानी संस्थाका अध्यक्ष केदार थापाले बताए ।

अध्यक्ष थापाका अनुसार आयोजना सुचारु गर्न एक करोड ४७ लाख १५ हजार तीन सय ८१ रुपैँया उठ्न बाँकी रहेकाले रकम संकलनको म्याद थप एक हप्ता थपिएको छ । फागुन मसान्तसम्म उपभोक्ताबाट रक मसंकलन गरिसक्ने तयारी भएपनि सो समयमा पूरा रकम संकलन नभएकाले समय थप गरिएको थापाले बताए ।

सो रकम आयोजना सम्झौता गर्नुपूर्व नै संकलन गरीसक्नुपर्ने भएकाले समितिले रकम संकलन कार्यलाई दोस्रो पटक समय थप गरी तीब्रता दिएको जनाईएको छ । यो दोस्रो पटक थपिएको म्याद अन्तिम भएकाले थपिएको समय अवधिभित्र उपभोक्ताले रकम बुझाइदिनका लागि समितिले आग्रह समेत गरेको छ ।

एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा ८५ करोड रुपैंयाँको लागतमा इलाममा अहिलेसम्मकै ठूलो खानोपनी आयोजना सञ्चालन हुन लागेको हो ।

आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एडीबीले ७० प्रतिशत अनुदान उपलब्ध गराउनेछ । पाँच प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहनेछ भने नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बस्नुपर्ने छ ।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चार वटा खोलाको मुहानबाट पानी ल्याउने तयारी गरिएको छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउनेछ । साना सहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटर को सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाईन तयार भएको छ ।

आयोजनाको सुरुको वर्ष दुई हजार सात सय ९८ घरधुरको २१ हजार चार सय ३३ उपभोक्तालाई दिनको सय लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ । २० वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको संख्या ३० हजार तीन सय २५ पुग्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार