नयाँ बुलन्द
इलाम : जिल्ला अस्पताल इलाममा पहिलो पटक सामाजिक सेवा इकाईको स्थापना भएको छ । गरिब तथा असहायलगायत लक्षित समूहका बिरामीलाई आंशिक र पूर्ण छुटमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले इकाईको स्थापना गरिएको अस्पतालले जनाएको छ ।
आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने हकबाट नागरिकलाई वञ्चित हुन नदिन यस्तो एकाई स्थापना गरिएको सामाजिक सेवा एकाई व्यवस्थापन समिति प्रमुख वाचसपति भट्टराईले जानकारी दिए ।
नेपाल सरकारले आर्थिक वर्ष ०६९÷७० देखि जिल्ला अस्पतालभन्दा माथिका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा एकाइ राख्ने निर्णय गरेको थियो । सरकारले १२ प्रकारका लक्षित समूह निर्धारण गरी यस वर्ष देशभरका १६ जिल्लामा इकाईको स्थापना गरेको हो । यसअघि १६ जिल्ला अस्पतालमा एकाई स्थापना भइसकेका थिए ।
इकाईबाट गरिब, असहाय, अपाङता, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित (बालबालिका सहित), महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट पीडित, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीबाट ल्याइएका थुनुवा, दुर्घटनामा परेका आकश्मिक विरामी (अभिभावक नभएको) र सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातिले २५ देखि शतप्रतिशत निःशुल्क सेवा पाउने छन् ।
अत्यन्तै गरीब असहायलाई इलाम अस्पतालबाट जिल्ला बाहिरका अस्पतालमा रेफर गर्नुपरेमा सो अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको पनि निःशुल्क व्यवस्था रहने बताइएको छ । लक्षित वर्गमा परेका बिरामिले गाउँपालिका वा नगरपालिकाबाट सिफारिस आउनुपर्नेछ । इलाम अस्पतालमा एकाईबाट १ चैतबाट सेवा दिन सुरु गरिएको हो ।
स्वाथ्य सेवा सबैको पँहुचमा पु¥याउन सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार भएको र सबैको पहँुचमा पु¥याउनु सरकारको दायित्व पनि रहेको छ । यो सेवा उपलब्ध गराउन थालेपछि सरकारबाट इलाम अस्पताललाई चालु आवका लागि विभिन्न शीर्षकमा नौ लाख ५९ हजार रुपैंयाँ बजेट विनियोजन गरेको छ ।