इलाम क्याम्पसमा स्‍नातकोत्तर तह संकटमा

विप्लव भट्टराई

इलाम : पूर्वकै प्रतिष्ठित क्याम्पसका रूपमा रहेको महेन्द्ररन्त बहुमखी क्याम्पसको स्नातकोत्तरको कक्षा बन्द हुने भएको छ । निजी स्रोतबाट २०५९ वाट सुरु भएको स्नातकोत्तर कक्षा सञ्चालनका लागि कुनै पनि विषयमा विद्यार्थी संख्या नपुगेपछि अन्यौल भएको हो ।

पटकपटक उत्कृष्ट क्याम्पसका रूपमा पुरस्कृत हुँदै आएको यो क्याम्पसमा स्नातकोत्तर तह हट्ने भएपछि पढ्न चाहने विद्यार्थीलाई समस्या भएको छ ।

घरमा नै बसेर अध्ययन गर्न नपाएपछि प्रवेश परीक्षामा सामेल भएका धेरै विद्यार्थी निराश बनेका छन् । सानोतिनो पेसामा अल्झिएर या घरायशी कामकाज भ्याएर भए पनि अध्ययन गर्न चाहने विद्यार्थीका लागि समस्या भएको हो । ‘जिल्ला छाडेर बाहिर गएर पढ्ने अवस्था छैन,’ इनापा ५ तोरीबारीका कौशल घिमिरेले भने, ‘यही कारण अब पढाइ टुंग्याउनुपर्ने भएको ।’

मानविकी संकायको नेपाली विषयबाट डिग्री अध्ययन, अध्यापन सुरु गरेको क्याम्पसमा २०६४/६५ देखि विषय थप गरिएको हो । क्याम्पसमा सञ्चालित मानविकी र शिक्षा संकायका ५ विषयमा भर्खरै सकिएको प्रवेश परीक्षामा १९ जना मात्र विद्यार्थी सहभागी भएका थिए । स्नातकोत्तर कक्षाका लागि एउटा विषयमा कम्तीमा १० जना विद्यार्थी हुनु पर्ने प्रावधान छ ।

प्रवेश परीक्षामा शिक्षा संकायको अंग्रेजी विषयमा ११ जना विद्यार्थी सामेल भए पनि सवैको भर्ना हुने निश्चित छैन । यो विषयमा अघिल्लो वर्ष ६५ जना विद्यार्थीले भर्ना गरेका थिए । त्यस्तै अघिल्लो वर्ष ८० जना विद्यार्थी सामेल भएको यसै संकायको शैक्षिक योजना तथा व्यवस्थापनमा १जना मात्र विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाए ।

मानविकीतर्फ नेपालीमा २ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भए । अघिल्लो वर्ष ३६ विद्यार्थी भर्ना भएका थिए । त्यस्तै ग्रामीण विकासमा र समाजशास्त्रमा २/२ जना विद्यार्थी मात्र प्रवेश परीक्षामा सहभागी भए । गत वर्ष ग्रामीण विकास १ सय १७ र समाजशास्त्रमा ८२ जनाको एडमिसन भएको थियो ।

त्रिभुवन विश्व विद्यालयले यस पटकदेखि राजधानी बाहिर लागू गरेको सेमिष्टर प्रणालीका कारण विद्यार्थीको उपस्थिति नभएको क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले बताए । ‘यसअघि पर्याप्त विद्यार्थी भए पनि अहिले त्यो अवस्था रहेन,’ उनले भने, ‘नियमित उपस्थिति हुनुपर्ने र आन्तरिक मूल्यांकन प्रणालीअन्तर्गत चल्नुपर्ने भएकाले विद्यार्थीको संख्या कम भएको हो ।’ स्नातक तहको नतिजाले पनि स्नातकोत्तरमा प्रभाव पारेको देखिएको छ ।

सेमिष्टर प्रणाली नहुँदा भर्ना गरेर नियमित कक्षामा नआए पनि फरक पर्दैन थियो । तर यो प्रणालीमा हरेक विद्यार्थीको ८० प्रतिशत उपस्थिति अनिवार्य छ । सातामा ४ दिन कक्षा सञ्चालन हुने १ दिन अध्ययन र १ दिन आन्तरिक परीक्षा गर्नुपर्ने प्रावधान छ । जसको कारण यो प्रणालीमा छिर्न नसक्ने विद्यार्थी अर्को विश्वविद्यालयअन्तर्गत गएका हुन् । २ वर्षे मास्टर्स कार्यक्रमका लागि ४ सेमिष्टर सञ्चालन हुन्छन् । आन्तरिक मूल्यांकनबाट विद्यार्थीले ४० प्रतिशत र विश्वविद्यालयबाट सञ्चालित परीक्षावाट ६० प्रतिशत अंकका लागि परीक्षामा समेल हुनुपर्छ ।

विद्यार्थीवाट शुल्क उठाएर सञ्चालन हुँदै आएको स्नातकोत्तर कक्षाका लागि विद्यार्थी कम भएपछि आर्थिक अवस्थाले पनि नथेग्ने भएको हो । अघिल्ला वर्षमा प्रतिविद्यार्थी वार्षिक १० हजार ५ सयका दरले वार्षिक रूपमा संकलन गरेर मास्टर्स तह सञ्चालन हुँदै आएको थियो । ‘एकै पटक धेरै रकम बढाउने अवस्था पनि छैन,’ प्रमुख गुरागाईले भने, ‘अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा हामी नै अन्यौलमा छौं ।’

त्रिभुवन विश् विद्यालयको कीर्तिपुरमा केही वर्षअघि नै लागू भएको सेमिष्टर प्राणाली अघिल्लो वर्षदेखि राजधानीमा सुरु भएको थियो । यो वर्षदेखि उपत्यका बाहिर लागू भएकाले मोफसलका धेरै क्याम्पसमा समस्या आउने अध्यापक दिपक लुङगेलीले वताए । ‘नयाँ र नौलो कार्यक्रम भएकाले अध्यापन गर्नेहरूलाई पनि क्षमता विस्तार गराएर यो प्रणाली लागू गरिनु पथ्र्यो,’ उनले भने । यो क्याम्पसको स्नातक तहका चार वटा संकायमा १४ सय ७७ विद्यार्थी अध्ययनरत छन् । स्नातक तहमा शिक्षातर्फ ४ सय ८६, मानविकीमा ३ सय ६५, व्यवस्थापनमा ५११ र बागवानीतर्फ १ सय १५ विद्यार्थी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार