सरकारमा दुई तिहाई पुर्‍याउन एमाले संविधान संशोधन गर्न तयार !

काठमाडौं : निर्वाचनअघि संशोधनको विपक्षमा रहेको एमाले दुई–तिहाई मत सहितको सरकार बनाउन संशोधनको लागि तयार भएको छ । सोमबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवसँग भएको छलफलपछि माओवादी अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री ओली संशोधनको विषयमा राजनीतिक सहमति गर्न तयार देखिएका हुन् ।

संविधान संशोधन भए सरकारमा सहभागी हुने संकेत फोरम अध्यक्ष यादवले दिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी लम्बिएको हो । माओवादी केन्द्रका ७ र एमालेका ८ मन्त्रीलाई एकसाथ शपथ खुवाउने भनिए पनि फोरमसहित सरकारलाई पूर्णता दिन सबैलाई शपथ खुवाउने कार्यक्रम सरेको हो ।

२ तिहाई मतसहितको सरकार निर्माण गर्न फोरमलाई सहमतिमा ल्याउन कसरत प्रधानमन्त्री ओलीले गरेका थिए । फोरमले संविधान संशोधन गर्न तयार रहे २ मन्त्रालयसहित सरकारमा सहभागी हुन सक्ने संकेत दिएपछि सरकारलाई पूर्णता दिने काम लम्बिएको हो । सोमवार बिहान माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री निवास बालुवाटारमा यादवसँग गरिएको छलफल सकारात्मक देखिएको थियो ।

माओवादीले आफ्नो भागमा परेको ७ मन्त्रालयको लागि मन्त्रीको नाम टुङग्याएर प्रधानमन्त्री ओलीलाई दिए पनि एमाले भित्र भने मन्त्री बन्ने र बनाउने विषयमा रस्साकस्सी बढी देखिएको छ । फोरमसँग मन्त्रालय बाँडफाडवारे टुङिगन बाँकी हुनु पनि सरकारले पूर्णता पाउन नसक्नुको अर्काे कारण थियो । फोरमलाई परराष्ट्र र एक राज्यमन्त्री दिएर सरकारमा सहभागी गराउने कसरत थियो । फोरमले भने संविधान संशोधन गर्न तयार भए २ मन्त्रालयसहित सरकारमा सहभागी हुने भनेको थियो ।

संविधानको धारा २७४ संशोधन गर्ने सहमति भएपछि सरकारमा जान तयार भएको फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । तर संशोधनवारे राजनीतिक सहमति नभइसकेको श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार पर्याप्त बँुदागत सहमति गरेर मात्र फोरम सरकारमा सहभागी हुनेछ ।

बाँकी ८ मन्त्रालय परेको एमालेको भागमा १५ भन्दा बढी मन्त्रीको लाइनमा देखिएपछि मिलाउन प्रधानमन्त्री ओलीलाई थप सकस भएको थियो । डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका ओलीले खतिवडा ठाउँमा रक्षामन्त्री बनाइएका इश्वर पोखरेलको नाम चर्चामा थियो । तर पोखरेललाई सरकारको दोश्रो वरियता हुने गरी रक्षामन्त्रीमा नियुक्त गरियो ।

माओवादीमा पनि  गृहका लागि विवाद चरम उत्कर्षमा पुगेको थियो । गृहका लागि जनार्दन शर्मा र वर्षमान पुनको दौडधुप थियो । तर रामबहादुर थापा ‘बादल’लाई गृह र मातृका यादवलाई उद्योग वाणिज्य तथा आपुर्तिमन्त्रीमा नियुक्त गरियो । सरकारको दोश्रो पोखरेल र तेस्रो वरीयतामा थापा रहने भएकाछन् ।

फोरम सहभागी भएसँगै मन्त्रालय भागवण्डा

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने पक्का भएसँगै एमाले र माओवादीले भागवण्डा गरेका मन्त्रालयमा हेरफेर हुनेभएको छ । परराष्ट्रसहित राज्यमन्त्री दिने गरी सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको आकांक्षा देखिए पनि फोरमले भने परराष्ट्रसहित २ मन्त्रालयको माग गरेका थिए ।

दुई पार्टीको लागि भएका मन्त्रालयको भागबण्डामा परराष्ट्र एमालेको भागमा परेको थियो । माओवादीको भागमा परेको ७ मन्त्रालयवाट १ मन्त्रालय फोरमलाई दिई २ मन्त्रालयसहित फोरमलाई सरकारमा सहभागी गराउने बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार