अतित योङहाङ
काठमाडौं : जिल्ला युवा समितिका काम्प्युटर अपरेटरहरुका लागि काठमाडौंमा आयोजित पाँच दिने क्षमता अभिवृद्धि तालिम मंगलबार सम्पन्न भएको छ ।
राष्ट्रिय युवा परिषदको आयोजनामा भएको तालिममा ७५ जिल्लाका जिल्ला युवा समितिको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरहरुको सहभागिता रहेको थियो । कर्मचारी अभावमा कम्प्युटर अपरेटरले कार्यालयको प्रशासनिक काम समेत गर्दै आएका छन् ।
कार्यालय सञ्चालनमा कुनै समस्या आउन नदिन परिषदले तालिमको आयोजना गरेकाे राष्ट्रिय युवा परिषद्का प्रशासकिय प्रमुख मुक्ति सिंह ठकुरीले स्पस्ट पारे । ठकुरीले कार्यालयमा अधिकांश फाँटमा कम्प्युटर अपरेटरले नै काम गर्नुपर्ने वाध्यता रहेको बताए ।
‘हुन त जिल्ला युवा समितिकाे कार्यालयमा कार्यालय प्रमुख मात्र छैनन्, जिल्ला युवा समितिका अध्यक्ष पनि छन् । तर अध्यक्षले प्रशासनिक काम गर्न नमिल्ने भएकाेले अपरेटरहरुलाई तालिम दिने र सबै जिल्लाका कम्प्युटर अपरेटर एक ठाउँमा भेलाएर तालिम दिँदा भेटघाट, चिनजान हुने र विभिन्न जिल्लाका कार्य सम्पादन समेत सेयरिङ हुने, जसले कार्यालयको काममा सहज होस् भन्ने उद्देश्यले सबै जिल्लाका अपरेटरहरुकाे लागि काठमाण्डौँमा तालिम आयोजना गरिएको हो’ ठकुरीले भने ।कार्यक्रम समापनकाे क्रममा परिषद्का कार्यकारि उपाध्यक्ष माधवप्रसाद ढुङगेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा जानेका, सिकेका कुराहरुलाई जिल्लामा गएर हुबहु व्यवहारमा लागू गराउन निर्देशन दिए । परिषद्का पाईलाहरु अघि बढाउन युवाहरुकाे भुमिका महत्वपुर्ण भएकाे र सबै जिल्लामा कार्यरत कम्प्युटर अपरेटरहरु युवा भएकाले जिल्ला युवा समितिकाे मेरुदण्ड कर्मचारिकाे रुपमा कार्य गर्न अनुराेध समेत गरे ।
तालिममा परिषद्का उपसचिव धुर्वराज पाैडेल, कर्णवहादुर भुवाजि, देविप्रसाध अधिकारी, रमा अर्याल साथै शाखा अधिकृत नरेश श्रेष्ठ, शारदा ज्ञवालि, विमला रेग्मी लगायतले सहजीकरण गरेका थिए ।